
कविता
जी एन शर्मा
उनीहरु हामीलाई आरोप लाउँछन्
झोलेहरु
भक्तहरु
भजन तथा किर्तन टोलीहरु
प्रवक्ता र प्रचारकहरु
भन्छन् हामीलाई
देखेर पनि नलेख्नेहरु
बुझेर पनि नजान्नेहरु
सुनेर पनि नसुनेकाहरु
उनीहरु हामीलाई भन्ने गर्छन्
कारिन्दा र कार्यकर्ताहरु
कमिटीका जान्ने मुखियाहरु
भुइँमा भन्दा आकाश हेर्नेहरु
भनिरहेकाछन् अहिले पनि
भक्तहरु
झण्डाको ओत लाग्नेहरु
हामीलाई नै सोध्ने गर्छन्
खै,कहाँछन् जनताका पत्रकारहरु ?
खै,कस्ता हुन्छन् साच्चैका पत्रकारहरु ?
यस्तै यस्तै अरु थुप्रै आरोपछन् हामी पत्रकार भन्नेहरुलाई
यी सबै आरोप मात्रै हुन् या हामी माथिका प्रश्नहरु ?
अरुलाई प्रश्न गर्ने भन्नेहरुलाई
अरुले प्रश्न गर्न पाउने कि नपाउने ?
अरुलाई सोध्नेहरुलाई अरुले सोध्न पाउने कि नपाउने ?
तर,यसको ठिक उत्तर दिने कसले ?
के यी सबै आरोपहरु नै हुन् या हामीलाई देखेर गरिएका प्रश्न ?

