
काठमाडौँ, वैशाख ३१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुङ्गो लगाउँदै आफ्नो सम्पूर्ण ध्यान सङ्गठन निर्माण र आन्तरिक संरचना सुदृढीकरणतर्फ केन्द्रित गरेको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार प्रथम महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई आगामी राष्ट्रिय राजनीतिमा पार्टीको दीर्घकालीन रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
बैठकबाट पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ भने सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ । यसले रास्वपाले केवल औपचारिक महाधिवेशनभन्दा पनि पार्टी संरचना, कार्यविधि र नेतृत्व प्रणालीलाई पुनर्संरचना गर्ने तयारी थालेको सङ्केत दिएको छ । विशेष गरी पार्टीले वडा तहदेखि पालिका तहसम्म अधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरी सङ्गठनलाई देशव्यापी रूपमा संस्थागत गर्ने रणनीति लिएको छ । हालसम्म समिति गठन नभएका क्षेत्रलाई प्राथमिकतामा राख्दै रास्वपाले जेठ महिनाभर सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने जनाएको छ ।
गत चैत २१ गते सम्पन्न आमनिर्वाचनपछि मुलुकको पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित भएको रास्वपाको पहिलो महाधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ । रास्वपाले आगामी केही साताभित्र वडा, पालिका र स्थानीय संरचनालाई पूर्णता दिने लक्ष्य लिएको छ । पार्टीभित्र राजनीतिक समीकरण स्थापित गरी विधान संशोधनमार्फत सङ्गठनात्मक ढाँचा परिवर्तनको तयारीसँगै रास्वपाले भावी राजनीतिक ‘रोडम्याप’ तय गर्ने भएकाले यसलाई भावी राजनीतिको मार्गदिशाका रूपमा समेत जोडेर हेर्ने गरिएको छ ।
गोरखापत्र अनलाइन



