
तस्बिर सौजन्य : जिल्ला कृषि विकास कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिका–५ मा कोदो दिवस मनाइँदै ।
केशवराज पौडेल
काठमाडौँ, साउन १७ गते । एक समय ‘गरिबको खाना’ भनेर चिनिएको कोदो अहिले ‘सुपर फुड’ र ‘भविष्यको खाद्य सुरक्षा’ का रूपमा पुनः चर्चामा आएको छ । जलवायु परिवर्तनका कारण कृषिक्षेत्रमा बढ्दो चुनौती, खाद्यान्न आयातमा निर्भरता र पोषण सङ्कटबिच नेपालले आफ्नो पुरानो रैथाने बालीलाई पुनर्जीवित गर्ने प्रयास थालेको हो ।
दोस्रो राष्ट्रिय कोदो दिवसका अवसरमा सरकार, किसान र कृषिक्षेत्रका सरोकारवालाले कोदोको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । ‘कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा संवर्धन’ भन्ने मूल नारासहित शुव्रmबार मनाइएको दिवसमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोदो नेपालको ऐतिहासिक, सांस्कृतिक तथा खाद्य प्रणालीसँग जोडिएको महìवपूर्ण बाली भएको बताउनुभयो ।
पहाडी जीवनसँग गाँसिएको बाली
केही दशकअघिसम्म पहाडी गाउँघरका भान्सामा कोदोको ढिँडो, रोटी र खोले नियमित परिकार थिए । खेतबारीका गरा र पाटामा लहलहाउने कोदो किसानको जीवनशैलीसँग प्रत्यक्ष जोडिएको थियो । तर आधुनिक खानपान, वैदेशिक रोजगारी र बदलिँदो कृषि प्रणालीका कारण गाउँका खेत बाँझिँदै गए र कोदो पनि बिस्तारै मानिसको थालबाट हराउन थाल्यो । चौँरीदेउराली गाउँपालिकाका चित्रप्रसाद चौलागाईंका अनुसार पछिल्ला वर्षहरूमा खेतीयोग्य जमिन बाँझो रहने व्रmम बढेसँगै कोदो उत्पादनमा समेत गिरावट आएको हो तर अहिले स्वास्थ्यप्रति बढ्दो चासो र रैथाने बालीप्रतिको आकर्षणले कोदो पुनः चर्चामा आउन थालेको हो । त्यही मर्मलाई आत्मसात् गर्दै चौँरीदेउराली गाउँपालिका यो वर्ष कोदो दिवस मनाएको उहाँले बताउनुभयो ।
कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीका अनुसार जलवायु परिवर्तन, बढ्दो खाद्य आयात र कुपोषणको चुनौतीबिच कोदोको महìव झन् बढेको छ । “एक समय उपेक्षित बनेको कोदो अहिले पोषणयुक्त अन्न र भविष्यको खाद्य सुरक्षाको आधारका रूपमा स्थापित हुँदै गएको छ,” उहाँले भन्नुभयो ।
काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर र गोरखाका पहाडी क्षेत्रमा अहिले पनि धेरै किसानले कोदो खेतीलाई निरन्तरता दिएका छन् ।
कृषि अभियन्ता हृदयराज गौतमका अनुसार वर्षायाममा रोप्ने र शरद ऋतुमा भिœयाउने यो बालीले कम पानी, कम मल र न्यून लगानीमै उत्पादन दिन्छ । “धानले पानी खोज्छ, मकैले मल खोज्छ तर कोदोले धेरै दुःख दिँदैन । उत्पादन पनि हुन्छ र घरको खानपान पनि चल्छ,” उहाँले भन्नुभयो ।
पोषणको खानी
कृषि तथा पोषणविज्ञ कृष्ण धितालका अनुसार कोदोमा क्याल्सियम, आइरन, प्रोटिन र रेसा प्रशस्त मात्रामा पाइन्छ । चामल र गहुँको तुलनामा बढी पोषक तìव भएकाले बालबालिका, गर्भवती महिला र ज्येष्ठ नागरिकका लागि समेत उपयोगी मानिन्छ । नेपालमा अझै कुपोषण चुनौतीका रूपमा रहेकाले कोदोको उत्पादन र उपभोग बढाउन सके स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पर्न सक्ने धितालले बताउनुभयो । पछिल्लो समय कोदोको पोषण र औषधीय गुणबारे जनचेतना बढ्दै गएको आयुर्वेदिक चिकित्सक डा. मनोज चौधरीले उल्लेख गर्नुभयो ।
सहरमा बढ्दो माग
अहिले सहरका होटल, रेस्टुराँ र खाद्य उद्योगहरूले समेत कोदोलाई नयाँ रूपमा प्रस्तुत गर्न थालेका छन् ।
कोदोबाट केक, बिस्कुट, कुकिज, नुडल्सलगायत विभिन्न स्वास्थ्यवर्धक परिकार उत्पादन भइरहेका छन् । व्यवसायी दिलीप श्रेष्ठका अनुसार केही वर्षअघिसम्म गाउँको परिकार मानिने कोदो अहिले स्वास्थ्यप्रेमी उपभोक्ताको रोजाइ बन्दै गएको छ । नेपालको कोदो नपुगेर विदेशबाट मगाउनुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । माग बढ्दै जाँदा उत्पादन भने सोही अनुपातमा बढ्न सकेको छैन । खेतीयोग्य जमिन बाँझिने, युवाशक्ति बिदेसिने र किसानले उचित मूल्य नपाउने समस्याले कोदो खेती विस्तारमा चुनौती थपेको छ ।
खाद्य सुरक्षा
कृषि तथा वन क्षेत्रका अध्येता किरण खरेलका अनुसार कोदोको संरक्षण केवल एउटा बाली जोगाउने अभियान मात्र होइन, खाद्य सुरक्षा, पोषण, जैविक विविधता र ग्रामीण अर्थतन्त्र जोगाउने अभियान पनि हो । स्थानीय तहहरूले प्रोत्साहन कार्यव्रmम सञ्चालन गर्न थालेका छन् भने सरकारले पनि रैथाने बाली संरक्षणका नीति अघि सारेको छ ।
एक समय उपेक्षित बनेको कोदो आज फेरि सम्मानका साथ नेपाली समाजमा फर्किन खोजिरहेको छ । गाउँका बाँझा डिलमा हरियाली फर्काउने, परिवारको पोषण सुधार गर्ने र देशको खाद्य सुरक्षा बलियो बनाउने सम्भावना बोकेको कोदो अब किसानको खेतमा मात्र होइन, राष्ट्रिय बहसको केन्द्रमा पनि पुगेको खरेलले बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।



