सम्पादकीय

भारतीय मिडियाको रोदन

सम्पादकीय
नेपाल र भारतबीचको शदियौँदेखिको आफ्नै प्रकारको सम्बन्ध छ । यो सत्य हो र सधै सत्य बन्न पर्छ कि नेपाल र भारत एक असल छिमेकी हुन्। अनि यो पनि सत्य हो कि नेपाल भारतको असल र भलो चिताउने छिमेकी देश हो । भौगोलिक हिसाबमा नेपाल भारत भन्दा सानो होला, जनसंख्याको हिसाबमा नेपाल भारत भन्दा सानो होला तर यसको अर्थ यो होईन कि आकार र संख्यामा सानो हुदैमा नेपाल भारतको हेपाहा र मिचाह प्रवृतिलाई मौन बसेर सहने छिमेकी पक्कै होइन ।
नेपाली र भारतीय जनताबीचको विविध सम्बन्ध आफैमा असल र उत्तमकोटीको रहेको छ । देश अलग भए पनि आपसी बन्धुत्वको भावना भने नेपाली जनता र भारतीय जनता बीच अटुट र भावनात्मक छ र यो सधै रहनु पर्छ ।तर, भारतीय शासक वर्गको नेपालप्रति हेर्ने शदीयौँ देखिको हेपाहा प्रवृतिले समय समयमा नेपाल र भारतबीच एकप्रकारको दरार पैदा गर्ने गरेको छ । अहिले देखिएको सीमा क्षेत्रमा विवाद पनि त्यसको एउटा ज्वलन्त नमूना हो ।
कहिले नेपालको भूभाग आफ्नो हो भनेर आफ्नो नक्शामा पार्ने त कहिले नेपालको भूभागमा एकलौटी सडक निमार्ण गर्ने जस्ता ठूलो देशको हेपाह कार्यले गर्दा समस्या आफै भारतले जन्माउने गरेको कुरा छर्लङ्ग छ । तर, यो परिस्थितिमा भारतीय मिडियाको चर्तीकला हेर्दा लाग्छ भारतका केही संचारमाध्यामले पत्रकारिता भनेको सफेद झुठलाई सयौँ पटक रोइकराइ गरेर भए पनि सत्य जस्तो लाग्ने भ्रम छर्नु र अर्काको राष्ट्रियता माथि हेक्का नराखी बोल्नु जस्तो रहेको छ ।
नेपाल र भारतको सीमा विवादको पहिलो अध्ययनको प्रारम्भ सन् १८१६ को सुगौली सन्धिलाई आधार मानेर यसको समाधानका विषयमा बहस शुरु हुनु पर्छ । भारतीय मिडियाले यो हो र त्यो हो भनेका आधारमा कसैले मान्ने र मान्नु पर्ने छैन । तर, भारतीय मिडिया अहिले एक नेपाली कलाकारले आफ्नो राष्ट्रियताको पक्षमा बोल्दा यति कोकोहोलो र हल्ला मच्चाइरहेका छन् कि मानौ मनिषा कोइरालको बोलीनै उनीहरुका लागि औडाहाको पहाड बनेको छ । मिडिया आफैमा सत्यको वकालत गर्ने साधन हो भन्ने कुराामा भारतीय मिडियाले कति बुझेको छ ? नेपाल भारतसँग एक असल छिमेकीको सम्बन्धलाई कायम राख्न चाहान्छ र नेपाली मिडिया पनि दुइदेशबीचको सम्बन्ध असल बनाउन चाहान्छन् र त्यही प्रयत्नमा लाग्ने गर्छन् तर आफ्नो राष्ट्र , राष्ट्रियता, गौरव र आफ्नो ईतिहासका विषयमा भने दुनियाँका कुनै पनि मिडियाका नाममा आउने भा्रमक झुठ समाचारहरुलाई चिर्न सक्षम छन् भन्ने कुरा पनि नेपाल र नेपालीका विषयमा विष वमन गर्ने हरुले बेलैमा बुझे हुन्छ ।
नेपाल र भारतबीच देखिएको सीमा समस्यालाई वार्ताका माध्यामबाट समाधान गर्नु पर्छ र यो ऐतिहासिक आधारमा हुनु पर्छ , नेपालको एक ईन्च भूभाग पनि भारतमा जानु हुदैन र भारतको एक ईन्च भूभाग पनि नेपाल चाहादैन तर नेपालको भूभाग हाम्रो हो भनेर नेपालीले भन्ने स्वभिमानी अधिकारलाई भारतीय मिडियाले झुठको बुट्टा भरेर भन्दैमा ईतिहासले पत्याउदैन भन्ने कुरा पनि भारतीय मिडियाले बुझ्दा राम्रो हुन्छ । किनभने सत्य सधै सत्य हुन्छ । जित पनि सत्यकै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button