स्वास्थ्य

बालबालिकालाई चिसोबाट कसरी जोगाउने?

सुरक्षा सुवेदी
शनिबार, पुस ११, २०७७

यतिखेर जाडोको मौसम छ। गर्मीसँग खेलिरहेको शरीर एकै पटक जाडोमा घुलमिल हुन निकै गाह्रो हुन्छ। मौसम परिवर्तन हुने बेलामा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बच्चालाई चिसोले छिटो समात्ने गर्छ।

मौसम परिर्वतन हुँदा बालबालिकामा विभिन्न समस्या देखिन्छन्। गर्मी सकिएर जाडो सुरु हुँदा बच्चामा पखला लाग्ने, रुघा लाग्ने, सिँगान बग्ने, खोकी लाग्ने, घाँटी दुख्ने, आँखामा कचेरा आउने, आँखा रातो हुने जस्ता समस्या देखिने गर्छन्।

यस्तो समस्या देखिँदा धेरै आमाबुबा कतै आफ्नो बच्चालाई कोरोना भाइरसको संक्रमण त भएन भनेर आशंका पनि गर्नुहुन्छ। तर जाडोमा बच्चामा यस्तो समस्या देखिँदैमा कोरोना भयो भनेर आत्तिइहाल्नु पर्दैन। चिसो मौसममा यस्तो समस्या देखिनु सामान्य नै हो। यो बेला बालबच्चालाई मौसमी फ्लुले समाएको हुनसक्छ। सामान्यतयाः मौसमी फ्लु ७ दिनसम्म निको हुँदैन। त्यसपछि विस्तारै निको हुँदै जान्छ।

यस्तो समस्या देखिँदा औषधिले रोगसँग लड्न सक्ने क्षमता घट्दै जाने हुँदा सकेसम्म घरेलु उपचारविधि अपनाउँदा राम्रो हुन्छ। घरेलु उपचारका लागि नुनपानी, बेसारमा तुलसी पत्ताको पकाएर खुवाउने, तातोपानीमा मह, अदुवा पकाएर खुवाउन सकिन्छ। अलि ठूलो भएका बच्चालाई बाफ लिन लगाउनुपर्छ, जसले गर्दा कफ निकाल्न सहयोग गर्छ।

बच्चालाई चिसोबाट जोगाउन बिहान उठ्नासाथ अदुवा, मरिच, ल्वाङ, सुकुमेल राखेर कालो चिया खुवाउनुपर्छ। सुत्ने बेलामा तातो दूधमा बेसार हालेर दिनुपर्छ र तातोपानीमा मह मिसाएर खुवाउँदा पनि चिसोबाट बचाउन सकिन्छ।

घाम लागेको बेलामा सबै कपडा खोलेर तोरीको तेलले मालिस गर्दा चिसो लाग्ने सम्भावना कम हुन्छ। घाममा राखेर तेल लगाउनु भनेको चिसोबाट जोगाउने सबैभन्दा ठूलो औषधि हो। चिसो मौसममा दिनभरिको घाममा राख्न बच्चालाई धेरै फाइदा हुन्छ।

घाममा बस्दा शरीरको पानी सोच्ने हुँदा शरीर सुख्खा हुने, चिलाउने डायरिया हुने जस्ता समस्या देखिन सक्छन्, त्यसैले घाममा राखेपछि बच्चालाई प्रशस्त मात्रमा मनतातो पानी पिउन लगाउनु पर्छ। घाममा बसेर सुन्तला, बदाम खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ। सुन्तलामा पानीको तत्व, भिटामिन सी हुन्छ। यसले रुघाखोकी विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ। चिसो मौसममा सुन्तला र कागती उपयुक्त मानिन्छ। साथै बदाम, बेसारले शरीर तताउन सहयोग गर्छ।

चिसोको समयमा हिटरको प्रयोग गरिन्छ।सकेसम्म हिटरको प्रयोग नगरेकै राम्रो हुन्छ। दिउँसो बच्चालाई घाममा राखेपछि बेलुका हिटर बाल्नु पर्दैन। हिटरबाट निस्कने कार्बनडाइअक्साइडले श्वासप्रश्वासमा समस्या निम्त्याउँछ।

साथै चिसोको समयमा तातोको लागि धेरै जनाले कोइला बाल्ने गरेको पनि देखिन्छ। कोइलाबाट निस्केको धुँवाले श्वासप्रश्वास समस्या आएर बालबालिका निस्सासिने हुँदा सकेसम्म बाल्दै नबाल्ने, यदि बाल्नु नै परेको खण्डमा खुला ठाउँमा बाल्नु उपयुक्त हुन्छ।

चिसो समयमा झ्यालढोका सबै थुनेर सुताउँदा निस्सासिएर बालबालिकाको निधन भएका थुप्रै घटना सुनिन्छन्। त्यसैले सुन्ने कोठमा गुम्म नबनाउने कोठाका भेन्टिलेटर खुला राखेर सुत्नुपर्छ।

कसैकसैले जाडो हुन्छ भनेर धेरै कपडा लगाउने गर्नुहुन्छ। त्यसो गर्दा बच्चाको शरीरमा पसिना आएर निमोनिया पनि हुनसक्छ। त्यसैले आवश्यक मात्रामा कपडा लगाइदिनुपर्छ। बच्चाको शरीरबाट पसिना निस्कने बेलामा बेलाबेलामा पसिना आएको छ कि छैन भनेर जाँच गर्नुपर्छ।

राति सुत्ने समयमा तातो दूध खुवाउने हो भने रातभरको चिसोबाट बालबालिकालाई जोगाउन सकिन्छ। राति सुत्दा ओढाएको कपडा बालबालिकाले फाल्ने हुँदा मोजा, पन्जा, टोपी, थर्मकोट लगाएर सुताउँदा राम्रो हुन्छ। बालबालिकालाई घाँटीमा डोरी बाँध्ने टोपी लगाएर सुताउँदा श्वासप्रश्वासमा गाह्रो हुने हुँदा यस्तो टोपी सकेसम्म नलाउँदा नै राम्रो हुन्छ।

आमाको दूध खाने बच्चालाई चाडो मौसममा छिटोछिटो दूध खुवाउनुपर्छ। सानो बच्चालाई रुघा लागेपछि श्वास फेर्न गाह्रो हुने हुँदा रुघा लागेका मानिससँग टाढै राख्नुपर्छ। यदि जोगाउँदाजोगाउँदै पनि रुघा लागेमा साना बच्चालाई नाक थुनिन्छ। त्यस्तो बेलामा बच्चाको नाक नुनपानीले सफा गरिदिनुपर्छ। उनीहरुलाई एन्टिबायोटिक चलाउनु हुँदैन। रुघा लागेका बच्चालाई ठाडो पारेर सुताउनु पर्छ। टोपी, पन्जा, मोजा लगाएर न्यानो बनाएर राख्नुपर्छ।(बाल नर्सिङ विशेषज्ञ सुवेदीसँगको कुराकानीमा आधारित।)swsthyakhabarpatrika/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button