
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाल टिमोर लिस्टेको यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा हारबाट जोगिएको छ ।
कतारको दोहास्थित ग्राण्ड हमाद स्टेडियममा शनिबार राति भएको खेलमा टिमोर लिस्टेको यु–२३ टोलीसँग २–० ले पछि रहेको स्थितिबाट नेपालले पूनरागमन गर्दै हारबाट जोगिएको हो ।
नेपालले टिमोर लिस्टेको यु–२३ टोलीसँग २–२ गोलको बराबरी खेलेको हो । पहिलो हाफ मै दुई गोल खाएको नेपालले दोस्रो हाफमा दुई बराबरी गोल फर्काएको थियो ।
४४औं मिनेटमा नेपाल पछि परेको थियो । लगत्तै पहिलो हाफमो इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा टिमोर लिस्टेले नेपालविरुद्ध अग्रता दोब्बर बनायो । ५१औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ७२औं मिनेटमा नेपाललेअर्काे गोल थप्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।
नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङसहित ११ खेलाडीको अनुपस्थिति रहँदा टोलीलाई दवाव भएको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीच विवाद भएपछि एन्फाले आफुविरुद्ध विद्रोह गर्ने खेलाडीलाई बाहिर राख्दै युवा खेलाडीलाई टोलीमा समेटेको छ ।
टिमोर लिस्टेपछि पछि नेपालले जेठ २० मा ओमानसँग मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ । यि दुवै खेललाई फिफाले अन्तराष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन । नेपाली टोली कतारबाटै एसियन कप छनोटका लागि कुवेत जानेछ ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।



