विचार

निन्दा उस्तै रहेन!

 


निरोज कट्टेल

फोटोमा देखिएको नदि धुलावारी बजार नजिकै भएर बग्ने निन्दा हो । एक दशक अघिसम्म यो नदि धुलावारीका मानिसहरुकालागि पानीको भरपर्दो श्रोत थियो । स्कुले जीवनका पलहरुमा साथीहरुसँग पौडी खेलेको माछा मारेको, हप्ता भरिका लुगाहरु एकै दिन धोएको स्मृतिमा आइरहन्छन् । बालुवा चाल्ने र गिटी कुट्ने मजदुरहरुले खोलालाई ढाकेको हुन्थ्यो । खोलाबाट बग्ने पानीले ज्यामिरगढीलाई सिंचित गर्थ्यो । बाँधको नजिकै उम्रिएका पिठारीको रुखबाट आइरहने चराचुरुङ्गीको आवाजले मुग्ध पार्थ्यो । बडेमानको पक्षी जसलाई हामी हाडखोर भन्थ्यौ त्यसले पखेटा फिँजाएर उडेको दृष्य हेरेर आफु पनि यसरी नै उड्न पाए हुन्थ्यो भन्ने कल्पना धेरै गरियो । खोलाको पश्चिम तर्फ रहेको दनुवार वस्तीका माझीहरुका लागि माछा मारेर जीविकोपार्जन गर्ने थलो थियो निन्दा खोला । बर्खासँगै आएको भेलेले चुरेबाट बगाएर ल्याएको रुखका ठुटाहरु झिक्नेहरुको भिड हुन्थ्यो । मानिसहरुका लागि दाउरा जोहो गर्ने माध्यम पनि थियो । गाउलेहरुको दैनिक जीवनसँग गाँसिएको अमुल्य निधी थियो निन्दा खोला । तर, अब निन्दा उस्तै रहेन चुरे माथि अतिक्रमण सुरु हुदै गएपछि पानीको सतह घट्दै गयो । पानी घटेपछि माछा हरायो, माछा मारेर जीवोकोपार्जन गर्नेहरु हराए । नुहाउने र लुगा धुनेहरु पनि खोला आउन छाडे । ढुंगा गिटीको अवैध उत्खनन गर्नेहरु रातारात मालिक बने तर मजदुरको अवस्था उस्तै रहयो । दुई दशक भन्दा अघि देखि बालुवा चाल्नेहरुको जीवनमा खासै परिवर्तन भएको छैन । आजकल त झन खोलामा प्लाष्टिकका र फोहोरको डंगुर थुप्रिएको छ । बजार बढ्दै गएपछि मेची नगरपालिकाले फोहरो थुपार्नका लागि यहि खोलाको बगर रोज्यो । फोहोरले पानीलाई बिषालु बनायो, त्यही पानीका कारण खोलामा पाउने अनेकौ जीवहरु मासिए । हामीले देख्दादेख्दै हाडखोर भन्ने चरा हरायो ।हुटिट्याँउ, चिवे चरा, स्याल र खिरखिरे आवाज नसुनेको धेरै भयो । बिषालु पानीका कारण जङ्गली जनवार मासिए । मेरै पुस्ताले देख्दादेख्दै पानीको भरपर्दो श्रोत रहेको निन्दा खोला मासिने क्रम छ । आजकल निन्दामा बालुवा उत्खनन गर्ने डोजर र टिप्परको ताँती देखिन्छ । चुरे क्षेत्रमा भइरहेको डोजरे विकासले विस्तारै हामी काकाकुल अवस्थामा पुग्दैछौ । नदि माथीको अतिक्रमण हामीलाई महङ्गो सावित हुदैछ । पानी रहे जीवन रहन्छ पानी विना मानिसको जीवन एकक्षण पनि चल्दैन । त्यसैले यो विकास र समृद्धि नामक जार्गनबाट मुक्त हौ । चुरे हाम्रो पानी रिचार्ज गर्ने क्षेत्र हो खोला हाम्रो पानीको श्रोत हो यसको संरक्षण गरौ । तपाँई हाम्रा बच्चाहरुले पानी खान नपाएर हप्याकहप्याक भएको कल्पना गरौ त रु त्यो क्षण कस्तो होला रु पानी भए जीवन रहला । वातावरण दिवस कर्मकाण्डी नबनोस हामी सबै मिलेर पर्यावरण बचाँऔं, पानीको श्रोतमाथिको अतिक्रमण बन्द गरौ । पर्यावरण मैत्री जीवन ब्यतित गरौं । वातावरण दिवसको शुभकामना ।(फेसबुकबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button