
एजेन्सी – युवा स्टार एर्लिङ ब्राउट हालान्डको दुई गोल मद्दतमा नर्वेले युइएफए नेसन्स लिग बी ग्रुप ४ को खेलमा लगातार दोस्रो जित निकालेको छ ।
लगातार दोस्रो जित निकाल्ने क्रममा नर्वेले स्वीडेनलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । सोल्नामा आइतबार राति भएको खेलको २०औं मिनेटमा हालान्डको पेनाल्टी गोलबाट नर्वेले सुरुवाती अग्रता लिएको थियो । इमिल क्राफले अनावश्यक फउल गरेपछि पाएको पेनाल्टीमा हालान्ड चुकेनन् ।
६९औं मिनेटमा हालान्डले एलेक्सान्डर सोर्लोथको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एन्थोनी इलांगाले डिजान कुलुसेभ्स्कीको पासमा गोल गरेपनि टोलीको हार टार्न सकेन ।
यो जितसँगै नर्वे दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सर्विया र स्वीडेन समान ३ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहँदा स्लोभेनियाले अंकको खाता खोल्न सकेको छैन ।
यही समूहको अर्काे खेलमा सर्वियाले स्लोभेनियालाई ४–१ ले पराजित गरेको छ । सर्वियाका एलेक्सान्डर मित्रोभिच, सेर्गेज मिलिन्कोभिक साभिक, लुका जोभिक र नेमान्जा राडोनजिकले गोल गरे । स्लोभेनियाका पिटर स्टोजानोभिकले एक गोल फर्काए ।हाम्रो खेलकुदबाट ।



