
एजेन्सी – मिडफिल्डर थोमस मुलरले एक गोलसँगै एक असिस्ट दिएपछि जर्मन च्याम्पियन बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
घरेलु मैदानमा बायर्नले वल्फवर्गलाई २–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । यसअघि बायर्नले पहिलो खेलमा आइनट्राख्ट फ्रान्कफुर्टलाई पराजित गरेको थियो ।
बायर्नको सहज जितमा जमल मुसिएला र थोमस मुलरले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । एलिएन्ज एरिना म्युनिखमा आइतबार राति भएको खेलको २०औं मिनेटमा साडियो मानेले गोल गरेपनि अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन ।
३३औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । उनले थोमस मुलरको पासमा गोल गर्न सफल भएका थिए । पहिलो गोलको लागि असिस्ट दिएका मुलरे ४४औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । मुलरले योसुवा किम्मिखको पासमा गोल गर्न सफल भएका थिए ।
दोस्रो हाफमा पनि बायर्नले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि थप गोल गर्न नसक्दा पहिलो हाफको गोल नै बायर्नको जितमा पर्याप्त बन्यो ।
यो जितसँगै बायर्न २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ६ अंक नै रहेपनि बोरुसिया डर्टमुन्ड गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ। पराजित वल्फवर्ग १ अंक जोडेर १५औं स्थानमा छ ।
बुन्डेसलिगाकै अर्काे खेलमा माइन्ज र युनियन बर्लिनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समान ४ अंक जोडेपनि बर्लिन पाँचौ तथा माइन्ज छैटौं स्थानमा रहेको छ ।



