कृषि र किसानमूल खबर

भारतबाट चार करोड ६० लाखको खरबुजा भित्रियो

झापा, जेठ ९ गते । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा रु चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजारमा भित्रिएको छ । गर्मीमा शीतल प्रदान गर्ने स्वादिष्ट फलका रूपमा खरबुजा बजारमा लोकप्रिय छ । स्थानीयले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पार्दै आएको छ ।

विगत १० महिनामा सबैभन्दा बढी चैतमा रु एक करोड ३३ लाख सात हजार मूल्य बराबरको पाँच लाख १० हजार २३० केजी खरबुजा भारतबाट आयात भएको छ । भन्सारले जनाएअनुसार चालु आवको पहिलो महिना साउनमा रु ६० लाख ५० हजार मूल्य बराबरको दुई लाख ३० हजार ८५० केजी, भदौमा रु ४८ लाख ९८ हजार मूल्य बराबरको एक लाख ८६ हजार १४० केजी, असोजमा रु ३७ लाख २९ हजार मूल्य बराबरको एक लाख ४१ हजार ४५० केजी, कात्तिकमा रु २१ लाख ३७ हजार मूल्य बराबरको ८१ हजार २४० केजी, मङ्सिरमा रु १४ लाख ६६ हजार मूल्य बराबरको ५५ हजार ७८० केजी र पुसमा रु १२ लाख ४२ हजार मूल्य बराबरको ४७ हजार २६० केजी खरबुजा भारतबाट काँकडभिट्टा हुँदै नेपाली बजारमा भित्रिएको छ ।

त्यसैगरी, माघमा रु २२ लाख ३२ हजार मूल्य बराबरको ८५ हजार ७१० केजी, फागुनमा रु ४४ लाख ८८ हजार मूल्य बराबरको एक लाख ७३ हजार ७८९ केजी, चैतमा रु एक करोड ३३ लाख सात हजार मूल्य बराबरको पाँच लाख १० हजार २३० केजी र वैशाखमा रु ६५ लाख ८६ हजार मूल्य बराबरको दुई लाख ५२ हजार ६५० केजी खरबुजा आयात भएको पाइएको छ ।

विगत केही वर्षदेखि झापामा व्यावसायिक खरबुजाखेती हुने गरेको छ । तर, नेपाली उत्पादनले भारतबाट आयातित खरबुजासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर बिक्रीमा समस्या भइरहेको मेचीनगर–१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक लीला खनालले बताउनुभयो । खनालले साझेदारहरूसँग मिलेर भाडामा लिएको १३ बिघा जग्गामा खरबुजाखेती गर्दै आउनुभएको छ । गत वर्ष उक्त फार्ममा ३५० मेट्रिक टन खरबुजा उत्पादन भएको थियो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button