मूल खबर

एमबिएस परीक्षा विवाद : त्रिवि र प्रहरीको छुट्टाछुट्टै अनुसन्धान

काठमाडौँ, साउन ११ गते । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय अन्तर्गतको मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) को परीक्षाका विषयमा विश्वविद्यालय र प्रहरीले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेको छ ।

शुक्रबार भएको एमबिएस प्रथम सत्रको ‘एमजिटी ५१५ अर्गनाइजेसनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको पाँच मिनेटमै बाहिरिएको थियो । यसलाई परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएको रूपमा व्याख्या गर्दै त्रिविको सर्वत्र आलोचना भइरहेको छ । यद्यपि यस विषयमा त्रिवि र नेपाल प्रहरीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ । प्रश्नपत्रका विषयमा अध्ययन गर्न त्रिविले आइतबार व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा त्रिवि अनुगमन निर्देशनालयका सहनिर्देशक सहप्राध्यापक डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहनुभएको छ । उक्त समितिलाई छानबिन गरेर सत्यतथ्य निरूपण गरी सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको त्रिविका रजिस्ट्रारसमेत रहेका व्यवस्थापन सङ्कायका डिन प्राडा महानन्द चालिसेले जानकारी दिनुभयो । प्रश्नपत्रका सम्बन्धमा उठेका विषयलाई त्रिविले गम्भीरतासाथ लिएको बताउँदै चालिसेले दोषीलाई कडा कारबाही गरिने बताउनुभयो ।

प्रश्नपत्रका विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले पनि अनुसन्धान गरेर कडा कारबाही गर्न नेपाल प्रहरीलाई अनुरोध गरेको थियो । साथै विश्वविद्यालयको व्यवस्थापन सङ्काय डिनको कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेर छानबिनका लागि अनुरोध गरेको थियो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विशेष निर्देशन र डिन कार्यालयको पत्राचारपछि प्रहरीले आइतबार केही व्यक्तिसँग सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा केहीलाई छोडिएको छ । यसैबिच कैलाली घोडाघोडी घर भई हाल मध्यपुरथिमी, भक्तपुर बस्ने ३३ वर्षका संदिप सिंहलाई नियन्त्रणमा राखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबराले बताउनुभयो । एमबिएसको परीक्षा मुलुकभरका ७६ वटा केन्द्रमा सञ्चालन भएको थियो । कुन केन्द्रबाट समस्या उत्पन्न भएको हो भन्ने यकिन नभएको र परीक्षा सञ्चालनमा समस्या नभएका कारण सो दिनको परीक्षा पूर्ववत् समय अनुसार नै सञ्चालन भएको थियो ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button