खबरहेड लाइन

कप्तानगन्ज घटना : छानबिन समितिले थाल्यो काम

सुनसरीको दुहबीमा मङ्गलबार निकालिएको सद्भाव र्‍याली ।

सचिन पोख्रेल

इटहरी, साउन १३ गते । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनावको तेस्रो दिन मङ्गलबार जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्था सहज बनाउने प्रयास भइरहेको छ । सो घटनाबारे गठित छानबिन समितिले मङ्गलबारदेखि छानबिनको काम सुरु गरेको छ ।

जिल्लाका केही स्थानमा मङ्गलबार पनि कफ्र्यु जारी राखेर सुरक्षाकर्मीको उच्च सतर्कता, प्रशासनको निरन्तर समन्वय, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक सद्भाव कायम गर्ने प्रयास गरिएको छ ।

सुनसरीको दुहबी, पकलीलगायत स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्‍यालीको आयोजना गरेका छन् । केही स्थानमा भने कफ्र्युको अवज्ञा गर्दै प्रदर्शन गर्नुका साथै छिटपुट घटनासमेत भएको छ । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अराजक र अप्रिय घटना हुन नदिन पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिण राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कफ्र्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागु गरेको छ । त्यस्तै हरिनगर, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज बजार क्षेत्रमा कफ्र्यु जारी छ । इनरुवाको चोक चोकमा कफ्र्यु आदेशका बिच प्रदर्शन भएको छ ।

आइतबार राति भएको घटनामा गोली लागेर देवानगन्ज–३ का ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनापछि संवेदनशील घोषित देवानगन्ज, हरिनगर, कप्तानगन्ज, भुटाहा, लौकही, भन्टाबारी तथा सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सुरक्षा संयन्त्र परिचालनलाई मङ्गलबार पनि निरन्तरता दिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो । यस क्रममा मुख्य सडक, चोक, बजार तथा सीमावर्ती क्षेत्रमा संयुक्त गस्ती बढाइएको छ भने भिडभाड हुन सक्ने स्थानहरूमा सुरक्षा उपस्थिति बाक्लो बनाइएको उहाँको भनाइ छ ।

गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय छानबिन समितिले आफ्नो कार्यादेश अनुसार घटनासम्बन्धी तथ्य, कागजात तथा प्रारम्भिक विवरण सङ्कलनको प्रक्रिया अगाडि बढाएको छ । समितिले सरकारी संयन्त्रका पदाधिकारी, सरोकारवाला पक्ष, नागरिक समाजलगायत पक्षसँग समन्वय गरी घटनाको कारण, सुरक्षाकर्मीको भूमिका, गोली चलाउनुपर्ने अवस्था तथा समग्र घटनाक्रमको निष्पक्ष अध्ययन प्रारम्भ गरेको संयोजक थापाको भनाइ छ ।

सहसचिव थापाको नेतृत्वमा गठित छानबिन समितिले घाइतेहरूलाई भेटेर काम थालेको र यस क्रममा सुरक्षाअधिकारी र सञ्चारकर्मीसहितका सरोकारवालालाई भेटेको छ । संयोजक थापाले प्रमुख जिल्ला अधिकारी अर्याल र प्रहरी प्रमुख तथा सञ्चारकर्मीहरूसँग छलफल गरेर जानकारी दिएको बताउँदै समिति अब घटनास्थलमा पुगेर सूक्ष्म अनुसन्धान सुरु गर्ने जानकारी दिनुभयो । उहाँले आफ्नो नेतृत्वमा नेपाल प्रहरीका विपिन रेग्मी, सशस्त्र प्रहरीका विक्रम हुमागाईं, ऊर्जा तथा जलस्रोत मन्त्रालयका शालीग्राम भण्डारीसहित पाँच जना फिल्डमा रहेका जानकारी दिनुभयो । यसैबिच देवानगन्जमा भएको हिंसात्मक घटनापछि विकसित परिस्थितिमा आपसी सद्भाव कायम गर्न मङ्गलबार दुहवीमा सद्भाव ¥याली निकालिएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button