
काठमाडौँ, साउन १४ गते । प्रधानमन्त्री वालेन्द्र शाह र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ । सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई बुधबार भेट गर्नुभएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको अर्यालले बताउनुभयो । प्रतिनिधि सभामा पछिल्लो समय प्रधानमन्त्रीको उपस्थिति माग भइरहेका बेला अर्यालले भेट गर्नुभएको हो । भेटमा अर्यालले प्रधानमन्त्रीलाई समसामयिक विषयमा सदनमा सम्बोधन गर्न आग्रह गर्नुभएको थियो । भेटबारे सभामुख अर्यालले भन्नुभयो, “मैले उहाँलाई (प्रधानमन्त्री) समसामयिक विषयमा बोल्नका लागि आग्रह गरेँ, उहाँले विचार गर्छु भन्नुभएको छ ।”
सभामुख अर्यालले बुधबारै प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापासँग पनि छलफल गर्नुभएको थियो । द्विपक्षीय भेटमा प्रतिनिधि सभाको कामकारबाही थप प्रभावकारी र मर्यादित बनाउने विषयमा कुराकानी भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ । अर्यालले यसअघि मङ्गलबार प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बे र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग पनि अर्यालले भेटवार्ता गर्नुभएको थियो ।
प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल
यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्तिसुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखसँग विस्तृत ‘ब्रिफिङ’ लिनुभएको राससले जनाएको छ । प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो । ‘ब्रिफिङ’ मा गृहमन्त्री सुधन गुरुङको समेत उपस्थिति रहेको थियो । ‘ब्रिफिङ’ क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आमनागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पु¥याउन खोज्ने तत्वमाथि कडा निगरानी राख्न निर्देशन दिनुभएको प्रेस तथा अनुसन्धानविज्ञ दाहालको भनाइ छ । प्रधानमन्त्री शाहले शान्तिसुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालयमातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कतासाथ परिचालन गर्न स्पष्ट निर्देशन दिनुभएको जनाइएको छ ।गोरखापत्र अनलाइन



