
मेचीनगर। नेकपा एमाले मेचीनगरका सचिव शेखर ओली ‘सागर’ले प्रशासनलाई अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले आफू स्वेच्छाले प्रहरीसमक्ष उपस्थित भएको बताएका छन्।
ओली मंगलबार आफैं इलाका प्रहरी कार्यालय धुलाबारी पुगेका हुन्। आफूविरुद्ध परेको उजुरीका विषयमा प्रहरीलाई आफ्नोतर्फबाट आवश्यक सहयोग पु¥याउने र घटनाबारे स्पष्ट पार्ने उद्देश्यले प्रहरी कार्यालयमा उपस्थित भएको उनले बताएका छन्।
नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारी सोमनाथ उप्रेतीमाथि कुटपिट गरेको आरोपमा परेको जाहेरीका आधारमा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। गत साउन २८ गते भएको घटनापछि ओली केही दिन स्वास्थ्य उपचारका क्रममा मेची आम्दा अस्पतालमा रहेको बताइएको छ।
ओलीका अनुसार आफू उपचाररत रहे पनि आफूविरुद्ध परेको उजुरीको विषयमा प्रशासनलाई सहयोग गर्नुपर्ने ठानेर स्वेच्छाले प्रहरीसमक्ष उपस्थित भएका हुन्।
घटना मेचीनगर–१० का कृषक कृष्ण मगरसँग सम्बन्धित विद्युत चुहावटको विषयबाट सुरु भएको बताइएको छ। मगरले पानी तान्ने बोरिङको काम पूरा गरेपछि पानी परीक्षणका क्रममा ‘हुक’ प्रयोग गरी विद्युत चुहावट गरेको आरोपमा प्राधिकरणले ७ हजार रुपैयाँ जरिवाना गरेपछि विवाद उत्पन्न भएको थियो।
उक्त विषयमा कृषक मगर र प्राधिकरणका कार्यालय प्रमुखबीच छलफलमार्फत समाधान खोज्ने प्रयास भएको थियो। मगर ओलीका छिमेकीसमेत भएकाले ओली गत साउन २८ गते उनलाई लिएर धुलाबारीस्थित प्राधिकरणको चुहावट नियन्त्रण फाँटमा पुगेका थिए। त्यहाँ कर्मचारी सोमनाथ उप्रेतीसँग विवाद भएपछि हातपात भएको आरोप कर्मचारी पक्षले लगाउँदै आएको छ।
कर्मचारी पक्षका अनुसार घटनामा उप्रेतीको आँखा र टाउकोमा चोट लागेको थियो। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। तर, ओलीले भने जनताको समस्या लिएर प्राधिकरण कार्यालय पुगेका बेला आफू उल्टै आक्रमणमा परेको दाबी गर्दै आएका छन्।
ओलीका अनुसार कार्यालय प्रमुखसँग कृषक मगरलाई कारबाही नगर्ने विषयमा सहमति भएपछि त्यसबारे चुहावट नियन्त्रण शाखाका कर्मचारी उप्रेतीलाई जानकारी गराउने क्रममा उप्रेतीले फाइल फालेर आफूलाई प्रहार गरेका थिए। घटनापछि उनले सञ्चारकर्मीसमक्ष यही दाबी सार्वजनिक गरेका थिए।
यसैबीच, घटना भएपछि इलाका प्रहरी कार्यालय धुलाबारी पुगेका प्राधिकरणका कर्मचारीमाथि ओली समर्थक युवाहरूले समेत कुटपिट गरेको आरोप कर्मचारी पक्षले लगाएको छ। कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय झापामा बुझाएको ज्ञापनपत्रमा घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन र कर्मचारीको सुरक्षाको व्यवस्था गर्न माग गरिएको थियो। माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत कर्मचारीहरूले दिएका थिए।घटनाकै दिन साउन २८ गते साँझ प्रहरीले शम्भू राजवंशीलाई नियन्त्रणमा लिएको थियो।
घटनामा दुवै पक्षले एकअर्कामाथि आरोप लगाउँदै आएका कारण वास्तविक घटनाक्रम र जिम्मेवारीबारे प्रहरी अनुसन्धानपछि थप तथ्य सार्वजनिक हुने देखिएको छ।



