रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशुली नदी आसपासको प्रभावित क्षेत्र ।
काठमाडौँ, भदौ १० गते । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशी र त्रिशुली क्षेत्रमा बाढीको जोखिम कायमै रहेको बताएको छ ।
महाशाखाका अनुसार चीनतर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशुली क्षेत्रमा जोखिम कायम रहेको जानकारी दिएको हो ।
अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन महाशाखाले अनुरोध गरेको छ ।
दिउँसो १ बजेसम्म चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह ४.७६ मिटर रहेको थियो । बाढीको बहाव करिब दिउँसो ३ः३० बजेसम्म देवघाटमा आइपुग्ने अनुमान गरिएको छ भने प्रारम्भिक आङ्कलन अनुसार पानीको सतहमा करिब तीन मिटरले वृद्धि हुन सक्ने जनाएको छ ।
जसअनुरुप पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो दुई–तीन वर्ष पुनरावृत्ति अवधिको बाढी हुने अनुमान गरिएको छ ।
गोरखापत्र अनलाइन



