स्वास्थ्य

डाक्टरको अक्षर किन बिग्रिँदै जान्छ?

कसैको अक्षर नराम्रो भयो भने यसमा डाक्टर बन्ने गुण देखियो भनी रमाइलो व्यंग्य गर्ने चलन पुरानै हो। बच्चै बेलामा सुनेको कुरा हो, डाक्टरले आफूले चाहेको फार्मेसीले मात्र बुझ्ने गरी अक्षर लेख्छन रे। मानौं कि उनीहरुबीच कोड ल्याङ्ग्वेजमा कुराकानी चल्ने गर्छ।

यो बुँदा सत्य होइन, भ्रम हो तर के चाहिँ सत्य हो भने डाक्टरको अक्षर समयक्रमसँगै बिग्रिँदै जान्छ र बिग्रिँने क्रम रोकिँदैन। धेरैको मनमा पौडी खेलिरहने प्रश्नहरु हुन्, के राम्रो अक्षर हुनेहरु डाक्टर बनेकै हुँदैनन्? के नराम्रो अक्षर हुनु डाक्टर बन्ने क्राइटेरियामध्ये नै हो र? के डाक्टर बन्दैमा वा डाक्टरी गर्दैमा अक्षर बिग्रिनु पर्ने नै हो र? राम्रो वा बुझिने अक्षरमा लेख्न डाक्टरहरु सक्दैनन् कि चाहँदैनन्?

वास्तवमा डाक्टरहरुले बुझिने गरी वा राम्रो अक्षरमा लेख्न नचाहने होइनन्। पहिलेदेखि नै डाक्टरको अक्षर नराम्रो हुने भन्ने पनि होइन। त्यही डाक्टरले फुर्सदको समयमा कविता वा लेख लेख्नु पर्‍यो वा छोराछोरीलाई होमवर्क सिकाउनु पर्‍यो भने अधिकांश समयमा पहिलेकै जस्तो राम्रै अक्षरले लेखेको हुन्छ।

उसोभए बिरामीको डिटेल र प्रेसक्रिप्सन अनि भर्ना भएका बिरामीको नोट लेख्दा भने किन हस्ताक्षर गरे जस्तो वा मुटुको चाल बिग्रिएको इसिजीको जस्तो अक्षर लेख्ने गर्छन् वा भनौं अक्षरले बिग्रिदैबिग्रिदै त्यस्तो स्वरुप ग्रहण गर्न पुग्छ त? यस विषयमा अहिलेसम्म वैज्ञानिक ढंगको ठूलो अनुसन्धान भइनसके तापनि यसका पछाडि निम्न चार कारण रहेको बुझ्न सकिन्छ:

पहिलो कारण: लेखेको लेख्यै गर्नु पर्नाले
बिरामीले बोलेका महत्वपूर्ण बुँदाहरु र परीक्षणबाट देखिएका एक्जामिनेसन फाइण्डिङहरु डाक्टरले पेशागत दायित्व मुताविक टिप्नु नै पर्ने हुन्छ। भनिन्छ, मेडिकल क्षेत्रमा कुनै पनि कुरा ‘डकुमेण्टेड नहुनु’ भनेको नसोधेको वा पत्ता नलगाएको सरह हुनु हो। उसै पनि आफूले निकालेको डायग्नोसिस पुष्टि गर्न एवं औषधि र सल्लाह ठिक लाइनमा छ भन्ने खुलाउन पनि मुख्य बुँदाहरु छुटाउन मिल्दैन। त्यसमाथि बिरामीले आफ्नो अधिकार बमोजिम केही कुरा चित्त नबुझेर सम्बन्धित निकायमा पुग्न सक्ने भएकाले पनि डाक्टरले ज्यामितिको साध्य प्रमाणित गरेजस्तो गरी सबै तथ्यलाई कारण सहित खुलाएको हुनै पर्छ। त्यसैले डाक्टरको ध्यान कुनै महत्वपूर्ण पोइन्ट नछुटोस् भन्नेमा ज्यादा हुन्छ न कि राम्रो वा चिटिक्कको अक्षर बनाउँ भन्नेमा।

अब विचार गरौं, एक डाक्टरले अस्पताल र क्लिनिक गरी दिनको तीसदेखि चालीस जना बिरामी हेर्ने क्रममा कत्ति धेरै लेख्नुपर्छ होला। नटिप्नु र त्यसको परिणाम खेप्नुभन्दा जस्तोसुकै अक्षरमै भए पनि लेखौं भन्ने मनोविज्ञान हावी हुन्छ र धेरै लेख्ने क्रममा हातका मांसपेसी गल्दैगल्दै जाँदा अक्षर पनि बिग्रिँदै-बिग्रिँदै जान्छन्। दिनको सुरुवाती केसहरुमा अक्षर तैबिसेक राम्रो र बुझिने पनि हुनसक्छ र जसै बिरामी थपिदै जान्छन्, उसैउसै अक्षरले पनि रुप बदल्दै जान्छ।

दोस्रो कारण: धेरै पटक एउटै कुरा लेखिराख्नु पर्नाले
बिरामीपिच्छे हिस्ट्री, फ़ाइण्डिङ र डाइग्नोसिस पनि फरक-फरक नै हुनसक्छ। तर सूक्ष्म ढंगले विश्लेषण गर्ने हो भने ‘यो डाइग्नोसिस हो’ भन्ने लाइनमा कुरा खुलाउने शब्द वा वाक्यको अंश सरदर दसदेखि बीस प्रतिशतसम्म हुन्छ भने ‘अरु कुनै डाइग्नोसिस होइन है’ भन्ने लाइनबाट कुरा खुलाउने शब्द वा वाक्यको अंश सालाखाला असीदेखि नब्बे प्रतिशत हुने गर्छ। यसको अर्थ असीदेखि नब्बे प्रतिशत शब्द र वाक्य प्राय: बिरामीको प्रेसक्रिप्सन सिटमा उही नै दोहोरिन आउँछ। जसरी कहिलेकाहीँ पूजा गर्नेले प्रष्टसँग मन्त्र पढे तापनि दैनिकै पूजापाठ गराउँदै हिँड्ने पण्डितले अरुले बुझ्न नसक्ने गरी छिटो-छिटो पाठ गरेझैं एउटै कुरा लेखेकोलेख्यै गर्नु पर्नाले डाक्टरको अक्षर बिग्रिँदै जाने हुन्छ। यही तथ्य ओपिडीमा वा क्लिनिकमा मात्रै होइन डिस्चार्ज लेखेकोलेख्यै गर्ने क्रममा इन्टर्न डाक्टर हुँदादेखि नै लागू हुन थालिसकेको हुन्छ।

तेस्रो कारण: बिरामीको भोल्युम र कामको चाप धेरै हुनाले
नेपालको सन्दर्भमा अहिलेसम्म डाक्टरले दिनभरिमा यति बिरामी मात्र हेर्ने र एक जना बिरामीलाई न्यूनतम यति समय दिनैपर्ने भन्ने नियम नभएको वा राख्न नसकिएको कारणले गर्दा एक डाक्टरले ‘आको बात छैन’ शैलीमा बिरामीको संख्या स्विकार्नुपर्ने हुन्छ। पहिले नै अपोइण्टमेन्ट तोकिने र ओपिडी पस्नु अगावै नयाँ र फलोअप गरी यति संख्यामा यो-यो बिरामी आउँदैछन् भन्ने थाहा पनि नलाग्ने त्यसमाथि कुन बेला इमर्जेन्सी, आइसियु वा वार्डबाट कल आइपुग्छ भन्ने पनि आकलन नहुने हुँदा डाक्टरको प्रत्येक दिन चापाचापको दिन हुने गर्छ।

बिरामीमा खोजिनुपर्ने विषय र गरिनुपर्ने उपचार अत्यधिक संवेदनशील विषय भएकाले कामको चाप र दिमागको तापको घर्षण हुँदै स्ट्रेस हर्मोन हरदम रगतमा बगिराखेको हुने तथ्यका बीच दिमाग र शरीरका प्रत्येक अंगले हतार भएको नोटिफिकेसन पाइराख्छ। फलस्वरूप डाक्टरले धैर्य राख्दै राम्रो अक्षर लेख्नेतिर ध्यान दिन सक्दैन्, चाहेरै पनि।

चौथो कारण: कागज र कलमकै भर हुनाले वा इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमको चलन नहुनाले
अघि भने झैँ एउटै कुरा पटकैपिच्छे हातैले लेख्नुपर्ने अवस्थालाई इलेक्ट्रोनिक सिस्टममा ‘प्रिफिड’ वा ‘डिफल्ट’ वाक्य, रिमाइण्डर आदि राख्ने हो र झुक्किन सक्ने कुराहरु सिस्टमले नै सम्झाइदिने हो भने माथि उल्लेख गरिएका सबै कारण वा समस्याहरुको साझा समाधान हुनसक्ने थियो होला। खोजेको बेलामा भनेको बिरामीको भनेको रेकर्ड निक्लने र तुलना हुनसक्ने हुँदा सर्च र रिसर्च पनि सजिलै गरी गर्न सकिने थियो होला। लेखेको वा सोचेको कुरा बिग्रियो कि भनी सोचेरै निक्लने स्ट्रेस हर्मोन पनि कम निक्लने थियो होला र बिरामीदेखि डाक्टरसम्म सबैको समय पनि बच्ने थियो होला।

निम्तिएको व्यवधान र सम्भावित समाधान
डाक्टरको अक्षर नबुझिने बन्दै जाँदा कतिपय अवस्थामा एउटा औषधि भनेर अर्कै औषधि पर्ने सम्भावना पनि उत्तिकै रहन्छ। त्यसको दुष्परिणाम हामीले सोचेको भन्दा निकै गम्भीर पनि हुनसक्छ। लुक-अलाइक र साउण्ड-अलाइक औषधि जस्तै: एजाथियोप्रिन र एजिथ्रोमाइसिन, पेनिसिलिन र पेनिसिलामाइन जस्ता औषधि साट्टिएर पर्नसक्ने र डाक्टरले लेखेको ब्राण्ड वा जेनेरिकमा अर्कै ब्राण्ड भिडिन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ। त्यसभन्दा बढी, नबुझिने अक्षरले निम्त्याउन सक्ने बबाल र बुझिने अक्षरको सवालले ढोका खोल्ने इलेक्ट्रोनिक मेडिकल रेकर्डको प्रयोगले ‘उपाय एक, समाधान अनेक’ को नारा पाउने छ र मेडिकल क्षेत्रले नै छलाङ मार्ने छ, समय क्रमसँगै।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button