खबर

एमालेको कार्यक्षमता देखेर विरोधी आत्तिए, पार्टी भित्रैकै हरिया सर्पले पनि प्रहार गरे : केपी ओली

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको शासनकालमा देशमा विकासको गति अघि बढेको दाबी गरेका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार बिहान सल्यानमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै ओलीले एमालेको पालामा देशमा सुशासन कायम भएको बताए । ‘भ्रष्टाचार नियन्त्रण गरेका थियौँ, थुप्रै क्षेत्रमा पूर्वाधार, विद्युत्, सञ्चार, शिक्षा, स्वास्थ्य, अनेक क्षेत्रहरूमा विकासको गतिलाई अघि बढाएका थियौँ’, कार्यक्रममा बोल्दै ओलीले भने।

एमालेको कार्यक्षमता देखेर विरोधीहरू आत्तिएको ओलीले बताए । ‘हाम्रो कार्यक्षमता देखेर हाम्रा विरोधहरू आत्तिए, पार्टी भित्रै लुकेर बसेका कतिपय हरिया सर्पहरू, तिनीहरू पनि आत्तिए तिनले पनि पार्टी विरुद्ध प्रहार गरे, हाम्रो देशलाई सम्पन्न भएको देख्न नचाहने, विकास भएको देख्न नचाहने यस देशको राष्ट्रिय स्वाधीनता र स्वाभिमान माथि उठेको देख्न नचाहने वैदेशिक शक्तिहरूले पनि हाम्रा विरुद्ध षडयन्त्र गरे’, ओलीले भने ।

एमालेले सरकार छाडेको अढाई वर्षमा राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा देश धेरै नराम्रो गरी ओरालो लागेको ओलीले बताए । आज देशको विकास ठप्प भएको आलीले सुनाए ।

अहिले जनतामा निराशा बढ्दै गएको ओलीले टिप्पणी गरे । देश अगाडि बढ्नु पर्नेमा विनाश तर्फ धकेल्ने काम गरिएको उनले बताए । विश्व तीव्र आर्थिक विकास तर्फ अघि बढिरहेको बेला नेपाल भने ओरालो लागेको उनको टिप्पणी छ ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते आरम्भ भएको यात्राको आज छैटौँ दिन हो । यात्रा २१ औँ दिनको दिन पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुँदै छ ।

मध्य पहाडको विकासको अवस्था, चुनौती र सम्भावना पहिचान गर्न एमालेले सो यात्रा आयोजना गरेको हो । पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउन सकिन्छ भन्ने विषय खोजी गर्न यात्रा आयोजना गरिएको एमालेले जनाएको छ ।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button