स्वास्थ्य

पानसराको तेस्रो सन्तान पनि बाटोमै जन्मियो

दयाराम पण्डित
–आफन्तलाई खबर नगर्दा जंगलमै बच्चा जन्माउन बाध्य
–सुत्केरीको पहुँचमा छैनन् बर्थिङ सेन्टर
बाजुरा ।

बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरुकी पानसरा रोकायाले मंगलबार बिहान बाटामै बच्चा जन्माउनुुभएको छ । ३१ वर्षीया रोकायाले तेस्रो सन्तानका रूपमा छोरीलाई बाटोमै जन्म दिनुभएको हो । मंगलबार बिहान सुत्केरी व्यथा लागेर आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गरेकी पानसराले बाटोमै बच्चा जन्माएको स्वास्थ्य केन्द्र कुरुकी प्रमुख धर्मा चदाराले बताउनुभयो ।

‘आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटो नजिकैको खेतमा छटपटाइरहेको अवस्थामा फेला पारेपछि उहाँलाई सहयोग गरेका हौं’, चदाराले भन्नुभयो– ‘अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा पानसरालाई फेला पारेपछि स्वास्थ्य संस्था लाने प्रयास गरेको तर, बच्चा जन्मिने बेला भइसकेको हुँदा त्यहीँ बाटोमै बच्चा जन्मिन पुग्योे ।’
‘अत्यधिक रक्तश्राव भइरहेको थियो, उहाँको पेटमा बच्चा पनि ४ केजीको रहेछ, बच्चा जन्माइसके पनि श्वास नै फेरिरहेको थिएन, सालले बेरेर बच्चा निस्सासिएको थियो, मलाई त डर लागेको थियो तर मैले आमा र बच्चा दुवैलाई बचाउन सफल भएँ’ –उहाँले भन्नुभयो । ‘पानसरासँग फेर्नलाई कुनै कपडा थिएन, साथमा रहेको सानो छोरा रोइरहेको थियो । आफूसँग पनि केही थिएन तर अरूसँग मागेर काम चलाएँ’ –उहाँले भन्नुभयो ।

योभन्दा पहिलाका दुईवटा सन्तान एक छोरा र एक छोरीलाई पनि काम गर्न गएको बेला बाटो र जंगलमा जन्म दिएकी उहाँले अहिले पनि तेस्रो सन्तान बाटोमै जन्माएको चदाराले बताउनुभयो । बाजुराका अधिकांश महिला सुत्केरी भत्ता पाउने आसमा मात्र स्वास्थ्य संस्थामा आउने गरेको बुढीनन्दा स्वास्थ्य शाखा प्रमुख ओम शाहीको भनाइ छ । ‘कुरुबाट कोल्टी स्थित पीएचसीमा आइपुुग्न स्वस्थ मान्छेलाई चार घण्टा लाग्छ बिरामीलाई दिन भर लाग्छ । कच्ची बाटो निर्माण गरिएको भए पनि गत वर्षमा भत्किएको छ । हामी बाटो मर्मतको क्रममा छौं’ –बुढीगनन्दा नगरपािलकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष साहले बताउनुभयो । ‘मासिक ४ लाख रुपियाँ दिएर कोल्टी पीएचसीमा एम डीजीपी डाक्टर छन् ।

सीएस गराउनकै लागि मासिक एक लाख रुपियाँ दिएर महिला स्वास्थ्य कर्मीको व्यवस्था गरेका छौं । गत वर्षदेखि हालसम्म ३२ वटा सुत्केरीको सीएस गरेका छौं । तर पनि सुत्केरीहरूलाई स्वास्थ्य संस्थामा बच्चा जन्माउनुपर्छ भन्ने विश्वास छैन । सीएस गर्नुपर्छ भने धार्मिक तथा परम्परागत रुढिवादीका कारण सीएस गराउन मान्दैनन्’ –प्रमुख साहको भनाइ छ । बाजुरामा पानसरा मात्र नभई धेरै आमाले बाटोमा बच्चा जन्माउने गरेका छन् । केही महिना पहिला काँडा निवासी ३२ वर्षीया उज्जली सुनारले बाटोमै छोरी जन्माउनुभएको थियो ।

बाजुराको गौमूल गाउँपालिका ३ माँझपालि बस्ने २१ वर्षीया भाग्य चदारा, हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकायाले बाटोमै बच्चा जन्माउनुभयो । त्यस्तै, हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ वर्षीया पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माउनुभयो । वडानम्बर १ मा रहेको बिच्छयाँ स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिन जाने बेला बिच बाटोमै पार्वतीले छोराको जन्म दिनुभएको थियो । स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका बिकले केही समय पहिला बाटोमा बच्चा जन्माउनुभएको थियो । सुत्केरी व्यथा लाग्नेबित्तिकै आफन्तले स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्मिएको हो ।

यी त केही उदाहरण हुन्, बाजुराको दुर्गम गाउँका आमाहरूको बाटोमा र घरमा बच्चा जन्माउने संख्या निकै रहेको स्वास्थ्यकर्मी बताउँछन । बाजुरामा ४ वर्षयता १२ जना सुत्केरीको पनि मृत्यु भइसकेको छ ।नेपाल समाचारपत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button