
मेचीनगर
ज्येष्ठ नागरिक वडा समिति मेचीनगर-६ ले मातातीर्थ औँसीको पावन अवसर पारेर वडाका ज्येष्ठ आमाहरूलाई विशेष सम्मान गरेको छ।
बिहीबार आयोजित एक समारोहका बीच वडाभित्रका विभिन्न टोलबाट छानिएका ७० वर्षभन्दा माथिका ज्येष्ठ आमाहरूलाई सम्मान गरिएको हो। समितिले विशेषगरी छोरी नभएका आमाहरूलाई प्राथमिकतामा राखेर सम्मान गरेको वडा समितिका अध्यक्ष नारायणप्रसाद प्रसाईंले जानकारी दिनुभयो। सम्मानित आमाहरूलाई दोसल्ला ओढाएर र खादा अर्पण गरी सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं कोशी प्रदेशसभाका पूर्व सदस्य श्रीप्रसाद मैनालीले जन्मदाताको सेवा नै संसारको सबैभन्दा ठूलो धर्म भएको बताउनुभयो। “मानव जीवनको सार्थकता आफ्ना अभिभावकप्रतिको कर्तव्य र सेवामा निहित छ,” मैनालीले भन्नुभयो, “आफ्ना मातापितालाई गर्ने सम्मान र सेवा नै व्यक्तिको वास्तविक पुँजी हो।”
विशिष्ट अतिथिको आसनबाट बोल्दै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकार मानवीय सेवा र सामाजिक सुरक्षाका क्षेत्रमा लगानी गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नगरपालिकाले ज्येष्ठ नागरिकमैत्री कार्ययोजना सञ्चालन गरिरहेको छ। हामी यस्ता मानवीय सेवाका कार्यहरूलाई दीर्घकालीन र प्रभावकारी बनाउन लागिपरेका छौँ।”
कार्यक्रममा मेचीनगर वडा नम्बर ६ का ११ वटा इकाइबाट ७० वर्ष नाघेका ११ जना आमाहरूलाई सम्मान गरिएको थियो।

सो अवसरमा वडा सदस्य ध्रुव राई, रेडियोकर्मी प्रसाद भट्टराई, ज्येष्ठ नागरिक संघ मेचीनगरका अध्यक्ष हिम्मत क्षेत्री, र मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेललगायतले शुभकामना मन्तव्य राख्दै समितिको कार्यको प्रशंसा गर्नुभएको थियो।
ज्येष्ठ नागरिक वडा समितिकी उपाध्यक्ष सुन्दरी श्रेष्ठले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सह-सचिव डम्बरबहादुर थापामगरले गर्नुभएको थियो। समितिले ज्येष्ठ नागरिकहरूको हकहित र सामाजिक क्षेत्रमा निरन्तर सक्रियतापूर्वक काम गर्दै आएको सचिव तुलसीप्रसाद निरौलाले जानकारी दिनुभयो।



