
चौथो विश्वकप च्याम्पियन उरुग्वेको टिम ।
काठमाडौँ, जेठ ११ गते । सन् १९५० को विश्वकप फुटबल प्रतियोगिता हुँदा दोस्रो विश्वयुद्धको विभीषिका ताजै थियो । युद्धको चपेटामा परेर नष्टप्रायः भएको युरोप आफूलाई त्रासदिका डोबबाट बाहिर निकालेर फेरि प्रगतिपथमा अगाडि बढाउने प्रयासमा लागिरहँदा एसियासमेत पीडाबाट मुक्त थिएन । यस कारण यस पटक विश्वकपको आयोजना गर्ने अवसर विश्वयुद्धको प्रभाव नपरेको दक्षिण अमेरिकाले पायो । विश्वयुद्धले १२ वर्षपछि मात्र चौथो विश्वकप हुन सकेको थियो । सन् १९३० मा उरुग्वेले पहिलो विश्वकपको आयोजना गरेको २० वर्षपश्चात् पुनः विश्वकपको आयोजना दक्षिण अमेरिकामा भित्रियो । यस पटक ब्राजिल विश्वकप आयोजना गर्ने राष्ट्र बन्यो ।
संसारलाई विश्वयुद्धमा होमेका कारण जर्मनी र जापान विश्वकपमा प्रतिबन्धित थिए । राजनीतिक कारणले गर्दा सोभियत सङ्घ, हङ्गेरी र चेकोस्लोभाकिया प्रतियोगिताबाट अलग बस्ने निर्णयमा पुगे । अर्जेन्टिनाले ब्राजिलको फुटबल सङ्घसँगको असहमतिका कारण छनोट चरणबाटै प्रतिस्पर्धा छाड्यो । यस्तै फ्रान्स र भारतले प्रतियोगितामा छनोट भएर पनि अन्य कारणले नखेल्ने निर्णय लिए । यस कारणले प्रतियोगितामा मात्र १३ टिमको सहभागिता रह्यो । फिफाको सदस्यता हासिल गरेकाले इङ्ग्ल्यान्ड पहिलो पटक प्रतियोगितामा सहभागी भयो ।
त्यतिबेला आफ्नो उच्चस्तरीय प्रदर्शनबाट इङ्ग्ल्यान्ड ‘फुटबलको राजा’ कहलिएको थियो । द्वितीय विश्वयुद्धपछिका वर्षमा २३ खेलमा जित, तीन खेलमा बराबरी र चार खेलमा पराजयको रेकर्ड बनाएको इङ्ग्ल्यान्ड दाबेदार भएर विश्वकपमा आयो तर पहिलो खेलमा अमेरिकाद्वारा १–० ले पराजित भएर घर फर्कियो । बलियो घरेलु लिग भएको इङ्ग्ल्यान्डको तुलनामा अमेरिका लगातार सात अन्तर्राष्ट्रिय खेल हारेर विश्वकपमा आएको थियो र उसको घरेलु फुटबल लिग पनि कमजोर नै थियो । अमेरिकी टिममा एक जना भाँडा धुने, एक जना हुलाकी, एक जना शिक्षक र मिलका एक श्रमिक खेलाडी बनेर आएका थिए । टिमको यस्तो संरचना हेरेर बेलायती सञ्चार माध्यमले पहिले नै अमेरिकी टिमलाई हरुवाको टोली दर्जा दिनबाट पछाडि परेनन् ।
विश्वकपको यस खेललाई त्यतिबेला फुटबलको सर्वाधिक अपत्यारिलो नतिजा मान्न सकिन्थ्यो । अमेरिका र इङ्ग्ल्यान्डबिच यति विस्मयकारी खेल भयो कि खेलाई ‘मिराकल अन ग्रिन’ उपमा नै दिइयो । विश्वकपलाई अविस्मरणीय बनाउन ब्राजिलले रियोमा दुई लाख दर्शक क्षमता भएको माराकाना रङ्गशाला पनि फटाफट तयार पारेको थियो । स्विडेन र स्पेन जस्तो शक्तिशाली टिमलाई व्रmमशः ७–१ र ६–१ ले हराएर आफूलाई ‘ड्रिम टिम’ साबित गर्ने घरेलु टिम ब्राजिल फाइनलमा उरुग्वेसँग २–१ ले हार्न पुग्यो । एजेन्सी
गोरखापत्र अनलाइन



