
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध दिएको कडा अभिव्यक्तिले राजनीतिक तथा प्रशासनिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले जिम्मेवार सरकारी अधिकारीहरूलाई ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनू’ भन्ने शैलीमा दिएको निर्देशन सार्वजनिक भएपछि त्यसको चौतर्फी चर्चा सुरु भएको हो।



