खेलकुद

विश्वकपमा गुलाबी बुटको चर्चा

न्युयोर्क, असार ८ गते । विश्वकप फुटबल–२०२६ मा किलियन एम्बापे र ह्यारी केनले आआफ्नो पहिलो खेलमै दुई दुई गोल गर्नुभयो । ब्राजिलका सुपरस्टार स्ट्राइकर भिनिसियस जुनियरबाट पनि एक गोल आइसकेको छ । अमेरिकाका जियो रेनाले पनि एउटा दर्शनीय गोल गर्नुभयो । यी सबैमा एउटा समानता छ– सबैले गोल गर्दा गुलाबी रङको जुत्ता (बुट) लगाएका थिए ।

अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको विश्वकपमा गुलाबी रङको बुट अहिले चर्चाको विषय बनेको छ । विश्वकपमा सहभागी दर्जनौँ खेलाडीले गुलाबी बुट लगाएका छन्; जुन हरियो मैदानमा निकै आकर्षक पनि देखिएको छ । विश्वका प्रतिष्ठित खेल कम्पनीहरूले विश्वकपका यसपालि गुलाबी बुट उत्पादन गरेका छन् ।

“एथलिटहरूले यो रङलाई आत्मविश्वासको प्रतीकका रूपमा लिन्छन्,” नाइकीका निर्देशक ओडिङ्गा निमाकोले भन्नुभयो । उहाँले सन् १९९८ को विश्वकपमा नाइकीले ‘सिल्भर’, पहेँलो र निलो रङको बुट ल्याएपछि सबैको ध्यान बुटमा पनि जान थालेको बताउनुभयो । यसअघि फुटबलमा कालो र सेतो रङको बुट मात्र प्रचलनमा थियो ।

यसपालि नाइकी, एडिडास, पुमा, स्केचर्स, न्यु ब्यालेन्स जस्ता ठुला कम्पनी गुलाबी बुटसहित विश्वकपमा आएका छन् । एमबाप्पे र भिनिसियसको खुट्टामा नाइकीको गुलाबी बुट छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र नर्वेका एर्लिङ हालान्ड, रेना, इङ्ग्ल्यान्डका युड बेलिङ्घम र डेक्लान राइस, क्यानडाका जोनाथन डेभिड, स्पेनका लामिन यामाल र फ्रान्सका ओस्माने डेम्बे एडिडासको बुट लगाएर खेल्नुहुन्छ ।

नेमार जुनियर चोटका कारण यस विश्वकपमा मैदानमा उत्रनुभएको छैन । विश्वकपमा खेल्दा भने उहाँले पुमाको गुलाबी बुट लगाउनुहुने छ । अमेरिकाका वेस्टन म्याकेनी र टिमोथी वेहले न्यु ब्यालेन्सको गुलाबी बुट लगाएर खेलिरहनुभएको छ । स्विडेनका एन्थोनी एलाङ्गा र केनले विश्वकपमा स्केचर्सको गुलाबी बुट लगाएर गोल पनि गरिसक्नुभएको छ । स्विडेनले ट्युनिसियालाई पाँच गोलले हराउँदा तीन गोल गुलाबी बुट लगाउनेबाटै आएको थियो । एपी

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button