खबर

विधि र पद्धति विपरीत कसैसँग सम्झौता हुँदैन : प्रधान सेनापति

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले संस्थागत हित नै आफ्नो एकमात्र स्वार्थ रहेको बताउँदै विधि र पद्धति विपरीत कसैसँग सम्झौता हुन नसक्ने बताएका छन्।

मंगलबार जंगी अड्डामा कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमका सहभागीलाई सम्बोधन गर्दै उनले नेपाली सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराहरुबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिवद्ध रहेको प्रस्ट पारे। उनले व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त्य गर्न आफू लागिरहेको पनि बताए।

आफूले कुनै राजनीतिक दलविशेषलाई खुसी पार्ने काम नगरेको उनको भनाइ छ। प्रधान सेनापति शर्माले आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुनै गोप्य सम्झौता नभएको पनि स्पष्ट पारे। योग्यता नपुगेको व्यक्तिलाई प्रधानसेनापति बनाउन भूमिका तयार गरेको भन्ने ‘दुस्प्रचार’को उनले खण्डन गरे। उनले आफू राजदूतको नियुक्तिमा जान लागेको भन्ने प्रचार पूर्णतः गलत रहेको पनि बताए।

शर्माले आफ्नो जिम्मेवारी क्षेत्रका जनता, जनप्रतिनिधि, विभिन्न निकायका कर्मचारी एवं कानुन कार्यान्वयन गर्ने निकायहरुमाझ सम्बन्धित युनिटहरुले समग्र संस्थालाई प्रतिविम्वित गर्ने उल्लेख गरे।

उनले आम नेपालीहरुको आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित नेपाली सेनाको गौरवलाई कायम राख्‍न मुख्य भूमिकामा रहेका युनिट कमाण्डरहरु लगायत सबैलाई पेसागत मर्यादामा रहेर संस्था र यसमा कार्यरत सकलदर्जाको हितमा समर्पित रहन निर्देशन दिए ।

newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button