मूल खबर

बाँचेकाहरू भन्छन्– ज्यान जोगाउनै मुस्किल

बीडी आचार्य
जाजरकोट ।

लेकाली भेगमा चिसो बढ्न थालेपछि भूकम्प प्रभावितको दैनिकी कष्टपूर्ण बितेको छ । भूकम्पले घर भत्किएपछि न्यानोको पर्खाइमा बसेका नागरिक सरकारले अस्थायी आवासका लागि दिने रकम समयमा नपाउँदा बिचल्लीमा परेका छन् । भूकम्प प्रभावित क्षेत्रका दीर्घरोगी, सुत्केरी, बालबालिका गरी हालसम्म २२ जनाको मृत्यु भइसकेको छ । समयमै अस्थायी टहरा निर्माणका गर्न नसके मृत्युको संख्या बढ्ने पीडितहरूले बताएका छन् ।

‘चिसो बढ्दै छ, न्यानो बास छैन, त्रिपालमुनिको बसाइले ज्यान जोगाउनै मुस्किल प¥यो’ –कुशे गाउँपालिका–८ का हस्त रोकायले गुनासो गर्नुभयो । उहाँले सरकारले अस्थायी आवासका लागि दिने भनी घोषणा गरेको ५० हजार रुपियाँ पाउन नसक्दा त्रिपालमुनि कष्टपूर्ण जीवन बिताएको बताउनुभयो । सोमबारदेखि हिमाली तथा पहाडी भूभागमा हिमपात हुन थालेपछि बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी गर्भवती महिला, दीर्घरोगी झन् समस्यामा परेका छन् । नलगाड नगरपालिका–४ चुनीलाल शर्माले चिसो बढ्दै जाँदा राहतबाट पाएको सामग्री पकाएर खानसमेत अप्ठ्यारो भएको बताउनुभयो । राहतबाट पाएको सामग्रीले छाक र रात बितेको उहाँको भनाइ थियो ।

सोमबार बिहानदेखिको सिमसिमे पानीले भूकम्प प्रभावित क्षेत्रका स्थानीयलाई बिचल्लीमा पारेको छ । लेकाली भेगमा हिउँ परेपछि लेकदेखि तलका बस्तीमा चिसो ह्वात्तै बढ्दा पीडितलाई झन् पीडा थपिएको छ । विगत वर्षमा हिमपात भए पनि घरभित्र आगो बालेर बसेका नागरिकहरू त्रिपालमुनि आगो बाल्न नमिल्ने हुनाले खुला आकाशमा खाना पकाउँदै आएका छन् । पीडितले आगो ताप्ने त परको कुरा हो खानासमेत पकाएर खान पाउने अवस्था छैन । कुशे गाउँपालिका–८ की विपना शर्माले अत्यधिक चिसो बढेकाले सुत्केरी, गर्भवती महिला, बालबालिका, दीर्घरोगी तथा ज्येष्ठ नागरिक समस्यामा परेको जानकारी दिनुभयो ।

‘खाना र नाना जसोतसो जुटाउने थियौं घर नभएपछि चिसोबाट ज्यान बचाउन गाह्रो छ । घरभित्रको सबै सामान पुरियो राहतले भोक मेटाए पनि शीत, जाडो, हिमपातलाई छेक्न सकेको छैन’, नलगाड नगरपालिका–१ का हीरालाल पुनले भन्नुभयो– ‘सरकारले घर बनाइदेला भन्दै एक महिना बित्यो, सबै सामान घरभित्र पुरियो, घर बनाउन सक्ने अवस्था छैन, घर बनाइदिएपछि न्यानो बनाउने जोहो हामी आफैं गर्छौं ।’

सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको खाताबाट भेरी नगरपालिका, बारेकोट गाउँपालिका, छेडागाड नगरपालिका, कुशे गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको खातामा रकम जम्मा भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । भेरी नगरपालिका–४ का वडाअध्यक्ष वसन्तप्रसाद शर्माले १३ वटै वडामा भएको क्षतिको विवरण स्थानीय विपद् व्यवस्थापन समितिमा आइनपुगेकाले अस्थायी आवासका लागि सरकारले दिने ५० हजार माग गर्न नसकेको बताउनुभयो । बुधबारसम्म सबै विवरण स्थानीय विपद् व्यवस्थापन समितिमा आइपुगेपछि तत्काल जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।नेपाल समाचारपत्रबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button