
काठमाडौँ, वैशाख २ गते । यही आइतबार (चैत २९ गते) वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव कार्यक्रम थियो । प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो, कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीलाई ।
कार्यक्रम सम्पन्न भएपछि सबै सहभागीलाई खाजाको प्याकेट वितरण गरियो । मन्त्री चौधरीलाई पनि खाजा उपलब्ध गराइयो तर जब मन्त्री चौधरीको खाजाको प्याकेट खोलियो, मन्त्री आश्चर्यमा पर्नुभयो । नजिकै बबरमहलमा रहेको बागमती स्विट्स प्रालिबाट खरिद गरी ल्याइएको थियो खाजाका प्याकेट । मन्त्री चौधरीकै प्याकेटमा रहेको ड्राइफ्रुट्समा किरा भेटियो ।
मन्त्री चौधरीले तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सो मिठाई पसलमा अनुगमन गर्न निर्देशन दिनुभयो । “यो मेरो खानाको मात्र विषय होइन,” मन्त्री चौधरीले भन्नुभयो, “आमनागरिकको खाद्य स्वच्छताप्रति सबै गम्भीर हुनु पर्छ । कुनै पनि गुनासो आए कडा कारबाही गरिन्छ ।”
खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको संयुक्त टोलीले विशेष अनुगमन ग¥यो । अनुगमनका क्रममा उक्त स्विट्स प्रालिले मिठाई उत्पादन गर्दा लापर्बाही गरेको पाइएपछि उत्पादन र बिक्रीवितरणमा तत्कालका लागि रोक लगाएको छ ।
विभागका अनुसार अनुगमनका क्रममा बागमती स्विट्सको तयारी खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको सरसफाइको अवस्था सन्तोषजनक नपाइएको र कीट नियन्त्रणको व्यवस्थापन पनि फितलो रहेको पाइएको छ ।
विभागका निर्देशन एवं प्रवक्ता डा. बालकुमारी शर्माले बागमती स्विट्सको अनुगमनका क्रममा ड्राइफ्रुट्स प्याकमा प्रयोग गर्नका लागि तयारी अवस्थामा राखिएको बदाममा किरा फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले अर्को आदेश नभएसम्मका लागि उक्त कारखाना उत्पादनबाट हुने सम्पूर्ण उत्पादन र बिक्रीवितरण रोक लगाएको छ।
अनुगमन टोलीले बजार पठाउन प्याकिङ गरेका प्याकेटमा किरा फेला परेको ठुलो परिणामको बदाम जफत गरी नष्ट गरेको जनाएको छ। साथै किरा परेका बदाम ड्राइफ्रुट्स मिक्सको नमुना सङ्कलन गरी थप अनुसन्धान गर्न प्रयोगशाला परीक्षणका लागि पठाएको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो । विभागको अनुगमन टोलीले बागमती स्विट्सलाई आफ्ना सबै कैफियत सुधार गरी सोको प्रमाणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशनसमेत दिएको छ ।गोरखापत्र अनलाइन



