
देवानगञ्ज घटनाको छानबिनका क्रममा विराटनगरमा अनुसन्धान गर्दै उच्चस्तरीय समिति। तस्बिर : सचिन पोख्रेल
सचिन पोख्रेल
विराटनगर, साउन १२ गते । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति सोमबार राति विराटनगर पुगेको छ। गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित समितिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको हो।
समितिले सोमबार राति नै विराटनगरस्थित न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। साथै, घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन गरिरहेको छ।
समितिले घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानुनी कारबाहीका लागि सरकारसमक्ष सिफारिस गरिने बताइएको छ।
गृह मन्त्रालयले निष्पक्ष छानबिन गरी एक साताभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ। घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने सरकारको प्रतिबद्धता रहेको मन्त्रालयले जनाएको छ।
गोरखापत्र अनलाइन



