खबरहेड लाइन

सुनसरी देवानगन्ज घटना : सद्भावका लागि आह्वान

कर्फ्युपछि सुनसान देवानगन्ज गाउँपालिकाको कप्तानगन्ज क्षेत्र । तस्बिर : सचिन पोख्रेल

सचिन पोख्रेल/जयकृष्ण यादव

देवानगन्ज (सुनसरी), साउन १२ गते । सुनसरीको देवानगन्ज गाउँपालिकामा आइतबार राति भएको गोली प्रहारमा एक जनाको मृत्यु तथा केही व्यक्ति घाइते भएपछि उत्पन्न तनाव घटाउन प्रयास जारी छ । विवाद साम्य पार्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, जनप्रतिनिधि तथा स्थानीय समुदाय दिनभरि सक्रिय बनेका छन् । सोमबारको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति र सद्भाव कायम गर्न आह्वान गरेको छ ।

देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति दुई समूहबिच भएको झडप क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । सो झडपमा केही सर्वसाधारण र सुरक्षाकर्मी घाइते भए । सो विषयलाई लिएर सोमबार सदरमुकाम इनरुवालगायत जिल्लाको दक्षिणी क्षेत्र दिनभरि तनावग्रस्त रह्यो । सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगन्ज र हरिनगर गाउँपालिकाका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो ।

सोमबार कफ्र्यु लगाइए पनि सुनसरीको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने देवानगन्ज, कप्तानगन्ज, हरिनगर, भुटाहा, इनरुवा, लौकही, भोक्राहालगायतका क्षेत्रमा दिनभरि प्रदर्शन भयो । स्थानीय प्रशासनले उच्च सतर्कतासहित सुरक्षा व्यवस्था कडा बनाउँदै स्थिति थप जटिल बन्न नदिन विभिन्न पक्षसँग निरन्तर समन्वय गरेको छ ।

यस क्रममा घटनास्थललगायत जिल्लाका विभिन्न क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरेर शान्ति सुरक्षा कामय गरिएको छ ।

घटनालगत्तै जिल्ला सुरक्षा समन्वय समितिको निर्णय अनुसार चार सयभन्दा बढी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो । संवेदनशील क्षेत्रमा संयुक्त गस्ती बढाइएको छ भने देवानगन्ज, कप्तानगन्ज, हरिनगर, भुटाहा, लौकही, भान्टाबारी तथा इनरुवामा सुरक्षा निगरानी कडा पारिएको छ ।

कफ्र्यु आदेश जारी गरिएपछि पनि केही स्थानमा प्रदर्शन जारी रहेकाले नेपाली सेनाले गस्ती बढाएको प्रशासनले जनाएको छ । यस क्रममा सङ्घीय सरकारदेखि स्थानीय तहसम्मका निकायले शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न विशेष जोड दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, उद्योग व्यवसायी तथा समुदायका अगुवा सहभागी थिए । बैठकले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा कुनै पनि बहानामा सामाजिक सद्भाव खल्बलिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने साझा निष्कर्ष निकालेको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

बैठकले घटनालाई कुनै जातीय, धार्मिक वा सामुदायिक विवादका रूपमा व्याख्या नगर्न आग्रह गर्दै कानुनी प्रक्रियाप्रति विश्वास राख्न सर्वसाधारणलाई अपिल गरेको प्रजिअ घिमिरेको भनाइ छ । राजनीतिक दलले पनि संयुक्त रूपमा शान्ति, सामाजिक सद्भाव र आपसी भाइचारालाई कुनै पनि हालतमा कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । लोकतान्त्रिक समाजमा कुनै पनि घटनाको समाधान कानुनी प्रक्रिया र संवादबाट मात्रै सम्भव हुने उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

सहभागीले सामाजिक सञ्जालमा अपुष्ट सूचना, उत्तेजक अभिव्यक्ति वा अफवाह फैलाउने गतिविधिले परिस्थिति थप जटिल बनाउन सक्ने भएकाले आधिकारिक सूचना मात्रै विश्वास गर्न आग्रह गरेका छन् ।

घटनाको विरोधमा आइतबार देवानगन्ज, कप्तानगन्ज, हरिनगर, भुटाहा, लौकही, भान्टाबारी तथा सदरमुकाम इनरुवालगायत स्थानमा दिनभरि प्रदर्शन भएका थिए । प्रदर्शन क्रममा स्थानीयले निष्पक्ष अनुसन्धान, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग गरेका थिए ।

अप्रिय घटना हुन नदिन प्रमुख बजार, चोक तथा सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सञ्चालन गरिएको थियो । प्रशासनले सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन निर्देशन दिएको जनाएको छ ।

आइतबार साँझ साउनमा शिव मन्दिरमा चढाइने बोलबम जलयात्राका लागि एक समूह कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगन्ज चोकतर्फ गइरहेका बेला अर्को समूहसँग विवाद भएको थियो । यात्रारत समूहले बजाएको डिजेको आवाज कम गर्न अर्को समूहले गरेको आग्रहपछि विवादले उग्र रूप लिएको थियो । स्थिति नियन्त्रणबाहिर जान थालेपछि सुरक्षाकर्मीले पटक पटक सम्झाइबुझाइ गरे पनि भिड थप उग्र बनेको थियो । यस क्रममा प्रहरीमाथि समेत आक्रमण भएपछि बाध्य भएर हवाई फायर तथा गोली चलाउनु परेको सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले बताउनुभयो ।

घटनामा देवानगन्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रतिनिधि सभा सदस्य लालविक्रम थापाले दुई समूहबिचको सामान्य विवाद र झपडको अवस्थामा स्थानीय सुरक्षाकर्मीले बल प्रयोग गर्दा स्थिति असामान्य बनेको बताउनुभयो ।

यसै गरी प्रतिनिधि सभाका सदस्यद्वय प्रकाशचन्द्र परियार र दीपककुमार शाहले घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै गृहमन्त्रीसँग भेट गरी निष्पक्ष, स्वतन्त्र र सूक्ष्म अनुसन्धानको माग गर्नुभएको छ ।

समिति गठन

घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा निर्धारण गरिएको छ । समितिले घटनाको सम्पूर्ण पृष्ठभूमि, गोली प्रहार हुन पुगेको अवस्था, सुरक्षा निकायको भूमिका, घटनापछिको व्यवस्थापन तथा आवश्यक सुधारका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।अनलाइनगोरखापत्र

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button