
हत्या भएको इस्मा गाउँपालिका–५, इस्मा रजस्थल (रातामाटा) क्षेत्र। तस्बिर : टोपलाल अर्याल
टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), असार १२ गते। गुल्मीमा पछिल्लो छ महिनायता मादक पदार्थको नशासँग जोडिएका तीनवटा हत्या भएका छन्। तीनै घटनामा आरोपित पक्राउ परेर कानुनी प्रक्रियामा रहेका छन्।
गत मङ्गलबार राति इस्मा गाउँपालिका–५ का ४१ वर्षीय यमबहादुर कुमालले मादक पदार्थ सेवनपछि आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमालको हत्या गरेको प्रहरीले जनाएको छ।
दाउराको धारिलो चिर्पटले कुटपिट गर्दा गम्भीर घाइते भएकी मुनालाई उपचारका लागि गुल्मी अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।
प्रहरीले घटनामा संलग्न यमबहादुरलाई पक्राउ गरी हिरासतमा राखेको छ। यमबहादुरले यसअघि २०६९ सालमा जेठी श्रीमती कमला कुमालको पनि हत्या गरेका थिए। त्यस घटनामा २०७० सालमा १० वर्ष कैद सजाय भएपछि कारागार चलान गरिएका उनी पाँच वर्ष आममाफी पाएर २०७४ सालमा रिहा भएको इस्मा गाउँपालिकाका कार्यपालिका सदस्य बसन्त सुनारले जानकारी दिनुभयो। मृतक मुनाका एक पाँच वर्षीय छोरा र दुई छोरी छन्।
यसअघि वैशाख २९ गते इस्मा गाउँपालिका–६ अमरपुरका ४५ वर्षीय थम्मन कुमालले मादक पदार्थ सेवनकै क्रममा आफ्नी ४३ वर्षीया श्रीमती सावित्रा (यनी) कुमालको हत्या गरेका थिए। कुटपिटबाट सावित्राको टाउकोमा गम्भीर चोट लागेको र करङका सात वटा हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न थम्मन हाल पुर्पक्षका लागि गुल्मी कारागारमा छन्।
त्यस्तै, माघ १५ गते इस्मा गाउँपालिका–२ हस्तिचौरका ४६ वर्षीय सन्तबहादुर कुमालले मादक पदार्थ सेवनपछि आफ्ना तीन महिनाका शिशु छोरालाई भुइँमा पछारेर हत्या गरेको प्रहरीले जनाएको छ। घटनापछि पक्राउ परेका उनलाई अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले मादक पदार्थको बिक्री–वितरण तथा सेवन नियन्त्रण गर्ने निर्णय गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। जिल्लामा हुने अधिकांश अपराध तथा सामाजिक विकृतिमा मदिराजन्य पदार्थको भूमिका देखिएको भन्दै प्रशासनले गत वैशाख २१ गते मदिरा बिक्री–वितरणमा नियन्त्रण गर्ने निर्णय गरेको थियो।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सार्वजनिक सूचना जारी गरी सबैलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो।
मदिरा सेवनसँग सम्बन्धित अपराध र सामाजिक विकृति बढ्दै गएपछि स्थानीय तह पनि चिन्तित बनेका छन्। मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले समस्या नियन्त्रणका लागि प्रहरी प्रशासनबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभयो।
गोरखापत्र अनलाइन



