खबरहेड लाइन

सडक अवरुद्ध हुनासाथ खुलाउने प्रयास

भउचप्रसाद यादव

काठमाडौँ, असोज १२ गते । वर्षाका कारण देशका प्रमुख राजमार्ग तथा सडकमा आएको बाढीपहिरोको अवरोध हटाउन सरकारले विशेष आपत्कालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । सरकारले पूर्वाधार विकास मन्त्रालयमातहत त्यस्तो कार्ययोजना कार्यान्वयनमा ल्याएको हो । पूर्वाधार विकास मन्त्रालयका सहसचिव इन्जिनियर सुशीलबाबु ढकालले सडक विभागमार्फत आफ्ना सम्पूर्ण संयन्त्र ‘फूल फेज’ मा कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो ।

ढकालका अनुसार अवरुद्ध राजमार्ग र सडक खुलाउन सम्बन्धित ठाउँमा हेभी मेसिनरी र जनशक्ति निरन्तर काम गरिरहेको छ । जोखिमयुक्त तथा संवेदनशील सडकखण्डमा एक्साभेटर, डोजर र लोडरलगायतका २४० भन्दा बढी ठुला हेभी उपकरण र प्राविधिक टोलीसहित २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ । “कतिपय अवरुद्ध राजमार्ग र सडक एकतर्फी भए पनि सञ्चालनमा आइसकेका छन् । बाँकी छिटै सञ्चालनमा आउने छन्” उहाँले भन्नुभयो, “अवरुद्ध राजमार्ग र सडक चाँडोभन्दा चाँडो खुलाउन मन्त्रालयको नीति हो । अहिले मन्त्रालयमातहतका सम्पूर्ण संयन्त्र परिचालित छन् । यातायात सञ्चालन र सुरक्षालाई सँगसँगै लैजाने नीति अन्तर्गत अहिले मन्त्रालयमातहतका निकायहरू काम गरिरहेका छन् ।”

दुई घण्टाभित्र सञ्चालन

विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेले सडक अवरुद्ध भएको सूचना प्राप्त हुनेबित्तिकै आधा घण्टाभित्र सम्बन्धित स्थानमा मेसिन पु¥याउने र अधिकतम दुई घण्टाभित्र यातायात एकतर्फी वा पूर्ण रूपमा सुचारु गराउने नीति लिइएको जानकारी दिनुभयो ।

निजी क्षेत्रका यन्त्रसमेत आवश्यकता अनुसार तुरुन्त भाडामा लिन सकिने गरी कानुनी तथा प्राविधिक तयारी गरिएको न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार जनधनको क्षति हुन नदिन रात्रिकालीन यातायातमा रोक लगाउनुका साथै थप सुरक्षा सतर्कता अपनाइएको छ । क्षतिग्रस्त सडक प्रहरी प्रधान कार्यालयको पछिल्लो विवरण अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडक बाढीपहिरोबाट प्रभावित भएका छन् । कोशी प्रदेशका केही जिल्लामा सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राखेर रातको समयमा यातायातमा रोक लगाइएको छ ।

बागमती प्रदेशमा मकवानपुरको हेटौँडा–भैँसे–भीमफेदी–फाखेल–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै काभ्रेको बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–८, गिम्तीबेँसी र वडा नम्बर ४, सयबेँसी क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ । धादिङको पृथ्वी राजमार्गका विभिन्न स्थानमा अवरोध रहे पनि धुनीबेँसी नगरपालिका–९ स्थित सुरुङमार्गअगाडि सडक एकतर्फी सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा पृथ्वी राजमार्गमा साना सवारीसाधन र मोटरसाइकल सञ्चालन भए पनि ठुला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । नारायणगढ–मुग्लिङ सडकखण्डमा समेत वर्षाका कारण यातायात प्रभावित भएको नेपाल प्रहरीको विवरणमा उल्लेख छ ।

गण्डकी प्रदेशमा बागलुङको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरका विभिन्न खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । पर्वतको मध्यपहाडी लोकमार्ग अन्तर्गत तमादी खोलामा पहिरो हटाएपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ । तनहुँको पृथ्वी राजमार्गका घाँसीकुवा, मौरीभिर, सेराटार तथा चुनपहरा क्षेत्र अवरुद्ध छन् । लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड पनि अवरुद्ध भएको छ ।

लुम्बिनी प्रदेशमा रोल्पा, गुल्मी, दाङ र पाल्पाका विभिन्न सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गुल्मीको मदन भण्डारी राजमार्ग, रुद्रवेणी–वामीटक्सार सडक र कालीगण्डकी कोरिडोर खण्डमा अवरोध छ । पाल्पाको कालीगण्डकी कोरिडोर र सिद्धार्थ राजमार्गसमेत पहिरोबाट प्रभावित छन् । कर्णाली प्रदेशमा कर्णाली राजमार्ग, कर्णाली कोरिडोर र राप्ती राजमार्गका विभिन्न खण्डमा पहिरोले यातायात अवरुद्ध गरेको छ । कालीकोटको गगने खोला, हुम्लाको खच्चा, मुगुको ताल्चा र सल्यानको खारखोलामा सडक अवरुद्ध भएको विवरण छ ।

सुदूरपश्चिममा बाजुराको मार्तडी–साँफे सडक र दार्चुलाको महाकाली राजमार्ग अवरुद्ध छन् । दार्चुलाको ऐरिछिनामा महाकाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए पनि साना सवारीसाधन भने सञ्चालन हुन सक्ने जनाइएको छ ।

यसैबिच सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ, उदयपुरलगायत जिल्लामा निश्चित समयका लागि रातिको यातायातमा रोक लगाइएको छ । सिन्धुली र काभ्रेमा बिपी राजमार्ग तथा अन्य संवेदनशील सडकमा समेत रातिको समयमा सवारी आवागमन रोकिएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button