
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले सुनसरी जिल्लाका विभिन्न गाउँबस्तीमा भएको आपसी द्वन्द्व तथा त्यसबाट उत्पन्न अशान्तिप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालीबीचको ऐतिहासिक एकता, आपसी सद्भाव र सामाजिक सामञ्जस्य कायम राख्न अपिल गरेका छन्।
साउन १४ गते निर्मल निवासस्थित संवाद सचिवालयमार्फत सद्भाव सन्देश जारी गर्दै पूर्वराजा शाहले सुनसरीमा भएको विवादका कारण जनधनको क्षति हुनुका साथै त्यसको असर कोशी क्षेत्र र तराईका विभिन्न भू–भागसम्म फैलिएको खबरले आफूलाई अत्यन्त दुःखी तुल्याएको बताएका छन्।
सन्देशमा नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिबीचको आपसी सामञ्जस्यका कारण विश्वमा परिचित रहेको उल्लेख गर्दै यस प्रकारका अवाञ्छित घटना र दुर्घटना हुनु चिन्ताको विषय भएको बताइएको छ।
‘समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना र दुर्घटना घट्नु चिन्ताको विषय हो । यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो,’ सन्देशमा भनिएको छ।
पूर्वराजा शाहले नेपालको गौरव र पहिचान नै बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधतामा आधारित रहेको उल्लेख गर्दै यस विशिष्ट पहिचानलाई कुनै पनि अवस्थामा कमजोर हुन दिन नहुनेमा जोड दिएका छन्।
‘हामी नेपालीहरू नेपाल निर्माणको सुरुवाती समयदेखि नै परस्पर मिलिजुली, हाँसीखुसी एक–अर्कामा माया–प्रीति गाँसी बसेका जातजाति हौं,’ सन्देशमा भनिएको छ, ‘कोही कसैबाट यसमा खलल पार्ने काम हुनु हुँदैन।’
नेपालको विशिष्ट धार्मिक, सांस्कृतिक तथा सामाजिक विशेषताकै कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको सम्मान रहेको स्मरण गर्दै उनले देशका जुनसुकै भू–भागमा रहेका नेपालीलाई आपसी मेलमिलाप र सद्भाव कायम राखेर अघि बढ्न आग्रह गरेका छन्।
‘जुनसुकै भू–भागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो,’ पूर्वराजा शाहले सन्देशमा भनेका छन्।
पूर्वराजाको सन्देशमा पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएका सामाजिक तनाव र द्वन्द्वले राष्ट्रिय एकता तथा सामाजिक सद्भावमा पार्न सक्ने असरप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम, सहिष्णुता र आपसी समझदारीका साथ अघि बढ्न आग्रह गरिएको छ।



