सृजनाको चौतारी

लघुकथा : ओडार

-देवी काफ्ले

‘ भव्य अधिवेशन छ अरे बा !’

‘त्यहाँ त मासुभात खान पाईन्छ अरे बा !’

‘सिरक ओढेर होटलको ओछेनमा सुत्न पाइन्छ अरे बा ! ’

‘बा ! जाम न हामी पनि बा ! जाम न के हामी पनि ’

नरेले जिद्दी गरेको छ । छ महिना भयो सेतो चामलको गेडो देख्न नपाएको नभनोस् पनि किन ?

‘सर्वहारा पार्टीको भव्य अधिवेशनमा हामी जान कसो नमिल्ला त नि ?’

ओढारमा बसेर खोरिया खन्दा खन्दा मरुभूमिको जर्जर बालुवाले खाएर सकेजस्ता सुकेर ढलेको रुखको जराजस्तै भएको हात र खुट्टा हेरेर मनमनै गुन्दैछन् नरेका बा ।

छ महिना अघि एकपाथी कनिका तराईबाट ल्याएर दशैं मनाएको झलझली सम्झिए । आज फेरि उनलाई कन्दमुल खोज्न जानको चटारो छ । कन्दमुल खोजेर नल्याए भरे साँझको चुल्हो बल्दैन ।

‘आजकल त भ्याकुर पनि पाउदैन कता पो पुग्नु खै ?’ नरेका बा बिलखबन्दमा छन् । उनी घोत्लिन थाले । यस्तै अवस्थामा देशको ब्यवस्था परिवर्तन गर्न र वर्गिय विभेद हटाउन हामी दिलो ज्यान दिएर लागेका छौं । बिर्ख भाइ तपाईंले हामीलाई सहयोग गर्नुपर्यो भनेर रातीमा एकहुल मान्छे आएका थिए । ओडारको ढुंगालाई भित्तो बनाएर खरले छाएको उनको दरबारमा ती मान्छे मजाले अटाए । घरमा भएको गिठाभ्याकुर उसिनेर पाहुना सत्कार गरे । उनीहरुका कुरा सुने अनि एउटा सपनाको संसारमा रम्न लागे । उनको सानो चिटिक्क परेको घर, बनिबुतो गर्न दुईचार कट्ठा जमिन, आँगनमा धानको खरई, छोराछोरी स्कुल जान लागेका, भित्रबाट मसिनीले चिच्याउथिन् ‘भात खान आउ बुढा !’

बिर्खे मस्किंदै भातको थालमा हेरेर गमक्क परे ‘अब त मेरा छोराछोरीले पनि पेटभरी भात खान पाए नी !’ कपाकप भात खांदै खुशीले मुस्कुराइरहेका थिए । मसिनीको आवाज आयो ‘अघाएनौ ?’ बिर्ख झल्याँस्स बिउँझे अगाडि सिल्टीको थालमा जगल्टे भ्याकुरको तिनवटा लाप्सा थिए । ‘सपना त देखाए तर हामीलाई कहिल्यै उठाउन सकेनन् ।’ आँखा रसाए । छोरालाई हेरे ।

तल राजमार्ग भरी लालझण्डाले रङ्गीएका गाडीका लावालश्कर हेरे । नरेले आफ्नो झुत्रा परेको भोटो र जाँगे हेर्यो । चिसोले कठ्यांग्रिएको नरेले भन्यो ‘बा ! उ तल हेरत । कति धेरै झण्डा लगाएका बाटोभरी । म जाम ? चारवटा झण्डा ल्याएँ भने त मलाई भोटो पुउन्च नि ! ’ बिर्खेका अँंखाबाट अबिरल अश्रुधारा चुहिए । ‘हरे शिव यो देशमा म जस्ता भ्याकुरले पेट भर्ने, छोराछोरी र जहानलाई एउटा गुन्यु दिन नसक्ने कमरेड कति होलान् ? छन् धेरै छन् तर आवाज उठाउन कोहि चाहादैनन् या सक्दैनन् ? होला म जस्तै आवाज बुलन्द गर्न नसक्नेहरु ।’

बाको पालादेखि नै सानो कुरामा खुशी समेट्दा समेट्दा आफ्नो र छोराको समेत भविष्य उहीँ ओडार, भ्याकुरमा जीवन जाने भयो । बिर्ख बहादुर घोत्लिए । ‘हिजो बाँडेका सपना सपना नै रहे । कति कमरेडहरु त गुन्द्री, भ्याकुर सबै बिर्से । ठुला ठुला गाडी चढ्ने भए । चौरासी ब्यन्जन खाने हैसियतमा पुगे तर जसले उनीहरुलाई त्यो ठाउँमा पुर्यायो उनीहरु आज पनि एक गाँसको लागि तड्पिरहेका छन् आखिर सम्बृद्धि भनेको यहि पो रहेछ । अचेल त जसले पैसा दिन सक्छ, जसले झोला बोकेर गुलामी गर्न सक्छ ऊ नै प्योर कमरेड हुने रहेछ म बबुरोलाई के थाहा ? सपना देख्नु त हाम्रो पनि अधिकार होला नी ! संसार बदल्ने सपनाका खाका कोरेर आश्वासनका जलप लगाइदिएर भिरमा किन पल्टाईदिएको भनेर सोध्ने, बोल्ने अधिकार त हामी भुँईमान्छेको पनि होला नी ! तर कसलाई सोधौं ? छ महिना भ्याकुर खाएर ओडारमा बस्ने निरीह प्राणीका लागि सम्बृद्धि के हो भनेर ?’

गरिबका पीडा वर्गिय विभेद हटाउँछौं भन्नेले बुझ्दा रहेनछन् । रोजगारी त पारिवारिक हकमा समाहित भएछ । जसले झुट्ठा कुरा बोल्दा पनि ताली पिट्छ ऊ पो अगाडि पुगेछ । फेरि पनि बिगत सम्झेर बरालिएको मनलाई कुटुरोमा सिमित गरेर भ्याकुर खोज्न जंगल पसे बिर्ख बहादुर । नरे आँगनको डिलमा बसेर एकतमास फहराइएका झण्डाहरु नियालीरहेको छ । उसको हात घरी आधा च्यातिएको कमिजको पिठ्युको भाग समाउन पुग्छ घरी जाँगेले ढाक्न नसकेको घुँडामा पुर्याउँछ । नरेकी आमा बोरा र कोदालो बोकेर छाक टार्ने जोहो गर्न बिर्खेसँगै उकालो लागिन् ।

‘गरिबका दिन कहिल्यै नफिर्ने रैचन नरेका बा ! अब हाम्रो छोराको जीवन पनि यै भ्याकुर खोजेर बित्ने त होला नी !’जनता समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button