
मेचीदेखि महाकाली
हिमालदेखि तराई
कहाँ गरिएन र समृद्धिका लागि यात्रा
तर खै! समृद्धि ?
आजपनि टाऊको माथि
ऋणको भारी उस्तै छ
बाउको फाटेको सुरुवाल
र आमाको च्यातिएको सारी उस्तै छ ।
कश्मीरदेखि चेन्नई
बङ्गालदेखि बेङ्लुर
मेघालयको कोइलाखानीदेखि
मुम्बईका होटल अनि
कोलकातादेखि केरलसम्मं
बेहिसाब छन् ; यात्राहरु
तर खै ! समृद्धि ?
आज पनि
घरका छानाहरु चुहेकै छन्
सपनाहरु सबै तुहेकै छन् ।
समृद्धिको लागि यात्रा गर्दागर्दै
इराकमा रेटिएँ
मेक्सिकोको जङ्गलमा
मृत भेटिएँ
कयौं रात
अरबको मरुभूमिमा
ऊँटसँगसँगै निदाएँ
इजरायलमा बारुदको
धुवाँ सँगै बिलाएँ
कहिले रसिया कहिले मलेसिया
कोरिया, पोर्चुगल र रुमानिया
अनगिन्ति छन् यात्राका स्मृतिहरु
तर खै ! समृद्धि ?
आजपनि जिन्दाबाद र मुर्दाबाद भन्नु परेको छ
एउटा त्रिपालको अभावमा
जाडोले कठ्याङ्ग्रिएर मर्नु परेको छ ।
यता
हिजोआज एकहुल मान्छेहरु
निस्किएका छन् रे
फेरि समृद्धिको यात्रामा
बाटोमा जे भेटिन्छ जे देखिन्छ
ठिङ्ग उभिएर
हान्दैछन् रे सेल्फी
खेल्दैछन् रे रोटेपिङ ।
उभिएर मन्दिरको अगाडि
ओडेर रामनामी बर्को
माग्दैछन् रे “भगवान” सँग
वरदान समृद्धिको ।
“भगवान” खुसी भएर
दिए पछि वरदान
अर्को एकहुल यात्रीहरुले
आजै गोदावरीमा
मनाए रे “समृद्धि उत्सव” ।
नागरिकलाई अनागरिक बनाउँदै
आरम्भ गरिएको समृद्धिको
नयाँ यात्रामा
झण्डै पूर्णबिराम लागेको अवस्थामा
“भगवान”ले काँध थापेपछि
अर्को हुल यात्रीहरु
नवीन योजना र सङ्कल्प
सहित सुरु गर्दै छन् रे
“समृद्धि”को अर्को यात्रा ।
उता
विमानस्थलमा लामबद्ध छन्
आँशु रित्तिएर सुख्खा बनेका आँखाहरु
समृद्धिको यात्रामा थाकेर
बाकसमा फर्किएका
यात्रीहरुको प्रतिक्षामा ………….।



